दोस्रो विश्वयुद्ध लडेका सैनिक ‘पापा जेक’ को १०२ वर्षको उमेरमा निधन

काठमाडौं : दोस्रो विश्वयुद्धका अमेरिकी सैनिक एवं सामाजिक सञ्जालमा पापा जेक नामले चर्चित जेक लार्सनको १०२ वर्षको उमेरमा निधन भएको छ।

लार्सन सन् १९४४ मा फ्रान्सको तटमा नाजी जर्मनीविरुद्ध भएको ‘डी–डे’ आक्रमणमा सहभागी अमेरिकी सैनिकमध्ये एक थिए। उक्त आक्रमणले दोस्रो विश्वयुद्ध अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ।

जीवनको उत्तरार्द्धमा लार्सन सामाजिक सञ्जाल टिकटकमा लोकप्रिय थिए। टिकटकमा उनका १२ लाखभन्दा बढी फलोअर थिए। त्यहा‍ँ उनी दोस्रो विश्वयुद्धका कथाहरू र आफ्ना सहयोद्धाहरूको सम्झना सुनाउँथे।

तीन हप्ताअघि मात्र उनले ‘‘डी–डे’ को ८० औं वार्षिकोत्सवको अवसरमा बेलायती–इरानी पत्रकार क्रिस्टियन अमानपुरसँगको अन्तर्वार्ताका लागि प्रतिष्ठित एमी अवार्ड जितेका थिए।

नातिनी म्याकेला लार्सनले टिकटकमा एक भिडिओमार्फत जेक लार्सनको निधन १७ जुलाईमा भएको जानकारी दिएकी हुन्। ‘उहाँले अन्तिम समयसम्म मजाक गर्दै हाँस्दै बिताउनुभयो,’ नातिनीले लेखेकी छिन्।

उनले अगाडि लेखेकी छिन्, ‘पापा जेकसँगको सम्झना बाँड्न पाउँदा म धन्य छु। उहाँलाई तपाईँहरू सबै असाध्यै प्यारो लाग्थ्यो।’ उनले आफ्नो परिवारलाई केही समय एक्लै रहन ‍दिन पनि आग्रह गरेकी छन्।

पापा जेकले दोस्रो विश्वयुद्धमा बेल्जियमको बट्ल अफ बल्जमा समेत सेवा गरेका थिए। उनी १९ वर्षको उमेरमा उत्तरी आयरल्याण्डको लर्गनमा खटिएका थिए। थाहा खबर

TOP