कुलिङ पिरियड लागू हुनैपर्छ, यसमा कम्परमाइज हुन सक्दैनः कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन्।

विपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राज्य व्यवस्था समितिबाट सर्वसम्मत रुपमा प्रतिनिधि सभामा पठाइएको संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा दुई वर्षे प्रावधान राखिएको थियो। तर प्रतिनिधि सभाबाट दुई वर्षे समयावधि हटाएर पारित भयो। समितिबाट पठाएको र संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि अहिले संसदीय छानबिन समिति बनाएर अध्ययन भइरहेको छ।

राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका छन्। तर कांग्रेस यसमा अडिग रहेको कांग्रेस नेताहरूको भनाइ छ। यसमा कांग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताए। भूमि विधेयक लगायत महत्वपूर्ण विषयहरूमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने बताए। गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताए।

प्रवक्ता महतले झुटो बोलिरहेकाहरू नै सत्य हो जसरी समाजमा स्थापित भइरहेको बताए। नेपाली कांग्रेस सत्यको पक्षमा रहेको बताए। थाहा खबर

TOP