विद्युत् प्राधिकरणले भन्यो- ट्रान्सफर्मर अदली बदली गरिएकोलाई लोडसेडिङ भनियो

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन तथा ट्रान्सफर्मर अदलीबदली गर्दा लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई ‘लोडसेडिङ’ भनिएको भन्दै आपत्ति जनाएको छ।

प्राधिकरणले आज विज्ञप्ति जारी गर्दै लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई ‘लोडसेडिङ’ भनिएको जानकारी दिएको हो।

चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन (आज साउन ११) का लागि निकालेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्योल र त्यसैलाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यक्त धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार चनौली वितरण, केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३/११ केभी सबस्टेशनमा न्यू भरतपुर (बसेनी) सबस्टेशनबाट आउने ३३ केभी लाइनमा बढेको अत्यधिक लोडका कारण सिर्जित समस्या समाधानका लागि कार्य भइरहेको छ।

‘चनौली क्षेत्रको मागलाई दीर्घकालीन व्यवस्थापन गर्नका लागि बसेनी १३२ केभी सबस्टेशनवाट चनौली सबस्टेशनसम्म नयाँ ३३ केभी लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र सो लाइन निर्माणपश्चात् यो समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास व्यक्त वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत् लाइन तथा ट्रान्सफर्मरहरू अदलीबदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको विषयलाई ‘लोडसेडिङ तालिका’शीर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं,’विज्ञप्तिमा उल्लेख छ।

चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्या मात्र भएको र समस्या समाधानका लागि प्राधिकरण अहोरात्र खटिएको हुँदा दुई तीन दिनभित्र निरन्तर विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ। थाहा खबर

TOP