मुख्यमन्त्री लामाको शर्तमा बानियाँ सहमत, देउवाको रोहबरमा मिल्यो पावर सेयरिङ

काठमाडौँ : बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक विवाद लगभग समाधान भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा र संसदीय दलका नेता इन्द्र बानियाँबीच शक्ति बाँडफाँड सहमति हुन लागेको हो । सभापति शेरबहादुर देउवाको रोहबरमा मुख्यमन्त्री लामा र नेता बानियाँबीच सहमतिको प्रयास गरिएको छ। सहमति अनुसार बानियाँले मुख्यमन्त्री लामासँगको सल्लाहमा सरकार सञ्चालन गर्ने छन् । लामा पक्षका चार जना सांसदलाई मन्त्री बनाउने र संसदीय समितिका सभापतिसहितका राजनीतिक नियुक्तिमा आधा आधा हिस्सा रहनेगरी सहमति गर्न देउवाले बानियाँलाई निर्देशन दिनुभएको छ । बानियाँले लामासँग सल्लाह गरेर प्रदेश सरकार सञ्चालन गर्न सहमत भएका छन् । सभापति देउवासँगको भेटमा मुख्यमन्त्री लामाले नियुक्त भएका तीन मन्त्रीको राजनीतिक भविष्य र आत्मसम्मानको विषय उठाउनुभएको थियो । आफुमाथि भएको राजनीतिक बेइमानी र षड्यन्त्रबारे पार्टीले निर्मम समिक्षा गर्नुपर्ने लामाको अडानमा सभापति देउवा सहमत हुनुभएको छ । दुई नेताबीच लिखित सहमति गराएर लामालाई राजीनामा गराउने मुडमा सभापति देउवा हुनुहुन्छ । दुबै नेता आफु निकट रहेको र भविष्यमा सम्भावना बोकेका भएकाले दुबैलाई नचिढ्याउने रणनीतिमा देउवा हुनुहुन्छ । लामालाई बागमती प्रदेश सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बनाएर नेतृत्व दिलाउनेगरी देउवाले तयारी थालेसँगै कांग्रेस भित्रको किचलो समाधान उन्मुख देखिएको हो । अब बिरामी भएका प्रदेश प्रमुख डिस्चार्ज भएर हेटौंडा पुगेलगत्तै लामाले राजीनामा दिने संकेत गर्नुभएको छ । लामालाई संसदीय दलको नेताबाट हटाउन गरिएको चलखेलको पार्टी भित्रै चर्को विरवध भइरहँदा अब एकतावद्व कांग्रेस निर्माणका लागि आफु पद त्यागको निर्णयमा पुग्न सक्ने भन्दै मुख्यमन्त्री लामाले लचकता अपनाउनुभएको हो । संविधानको धारा १८६ को उपधारा २ अनुसार गठित लामा नेतृत्वको सरकार ढाल्न कांग्रेसलाई नैतिक रुपमा संकट परेको थियो । लामा मुख्यमन्त्री बन्ने बेलामा एमालेसँग आधा आधा कार्यकाल नेतृत्वको सहमति भएको थियो । जस अनुसार अब बानियाँले आगामी चैत ८ गतेसम्म बागमती सरकारको नेतृत्व गर्नेछन् । थाहा खबर

TOP