बागमतीमा बहादुर पक्षको अडान, मन्त्री नपाएसम्म देउवाको निर्देशन पनि नमान्ने

काठमाडौं : बागमती प्रदेशमा नेपाली कांग्रेसका असन्तुष्ट १४ सांसदले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने अडान लिएका छन्।

आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिँदै छन्। दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

निवर्तमान मुख्यमन्त्री बहादुरसिं लामा कांग्रेस संसदीय दल नेतामा पराजित भएपछि बानियाँ कांग्रेस र एमालेका ६४ सांसदको समर्थनमा साउन २० गते मुख्यमन्त्री बनेका थिए।

कांग्रेस र एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। तर, बानियाँलाई आफ्नै पार्टीबाट असहयोग हुनसक्ने चिन्ता छ। १४ सांसद रहेको लामा पक्षले पूर्वसहमति पालना नभएको भन्दै विश्वाससको मत नदिने बरु सांसद पदबाटै राजीनामा दिने घुर्की दिइरहेको छ।

लामाले आफूपक्षीय ३ सांसदलाई मन्त्री बनाउनुपर्ने अडान लिएका बेला हिजो पार्टी सभापति शेरबहादुर देउवाले बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका छन्। उनले तत्काल विश्वासको मत दिन र मन्त्री नियुक्त गराउन आफूले मुख्यमन्त्रीलाई निर्देशन दिने आश्वासन दिएका छन्।

तर, निवर्तमान मुख्यमन्त्री लामाले कुनै निर्णय लिइ नसकेको अवस्थामा सांसदहरु भने अलमलमा परेका छन्। लामा पक्षका सांसद गोबिन्द लम्सालले आफूहरुको माग पूरा नभएसम्म थप निर्णय नलिने र अडान कायम रहेको बताए। अर्थात्, मन्त्री नियुक्त नभएसम्म विश्वासको मत नदिने अडान यथावत् राखेको छ। यता, बानियाँ पक्षले भने ह्वीप जारी भइसकेको अवस्थामा कुनैपनि सांसदलाई दायाँबायाँ गर्ने छुट नभएको चेतावनी दिइरहेको छ। थाहा खबर

TOP