जहाँ खाली जग्गा त्यहाँ एमालेको आँखा : शेखर कोइराला

काठमाडौँ : नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै टिप्पणी गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले अहिले भूमिसम्बन्धी आएको विधेयकमा काँग्रेस सांसदहरूले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए। खाली जग्गामा एमालेको आँखा गइहाल्ने उनको कटाक्ष छ।

गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको बताए। सांसदले नै बिचौलियाको काम गरेपछि देश कता पुग्छ ? भन्दै प्रश्न गरे।

कोइरालाले भने, ‘जहाँ खाली जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ। यो गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्ति‚ लिचीबारी पोखरा, गिरीबन्धु टिस्टेट जताततै एमाले मात्रै सुनिन्छ। संघीय मामिलामन्त्रीले त राजीनामा दिनुभयो तर भूमि सुधारमन्त्री अहिले पनि जबरजस्ती बसिरहनुभएको छ। कास्की जिल्लाको एमाले कमिटी पूरैले भूमि सुधारमन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ। रेशम चौधरीजीको पार्टीको बिचौलिया एकजना हुनुहुँदो रहेछ। सांसद पनि बिचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ?’

सांसद कोइरालाले सरकार निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाए। थाहा खबर

TOP