गृहपृष्‍ठसमाजआन्दोलनमा कसरी पुगे ‘स्कुल ड्रेस’मै विद्यार्थी ?

काठमाडौं : आज(सोमबार)को जेनजीको प्रदर्शन उग्र मात्र मात्रै होइन् हृदयविदारक पनि बनेको छ। प्रहरीको गोली लागेर केहीको त घटनास्थलमै मृत्यु भयो भने कोही अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको छ। ड्रेसमै भएको विद्यार्थीको पनि मृत्यु भएको देखिएको छ।

प्रहरीको गोली लागेर हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको छ। सयौं घाइते भएको बताइएको छ। आजको यो आन्दोलनमा अधिकांश ड्रेसमै विद्यार्थीहरू सहभागी भएका देखिएका छन्। त्यसो त कसरी विद्यार्थीहरू ड्रेसमै आन्दोलनमा आए भन्ने प्रश्न उब्जिएको छ।

कतिपयले विद्यालयले नै पठाएको भन्दै विद्यालयलाई कारबाही गर्नुपर्ने मागसमेत उठाएका छन्। हिजो बेलुकासम्म टिकटक भरी नै ड्रेसमै आन्दोलनमा जानुपर्ने भन्दै जानकारी फैलाइएको थियो।

यसविषयमा बुझ्दा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले आन्दोलनमा सहभागी भएका विद्यार्थीहरू विद्यालयको नभइ उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरू रहेको जिकिर गरेको छ।

प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले भने,‘आन्दोलनमा सहभागी भएका विद्यार्थीहरू उच्च शिक्षा पढ्ने विद्यार्थीहरू हुन्,विद्यालयका विद्यार्थी होइनन्,जुन याे घट्ना घट्याे दुखद घट्ना घट्याे।’ उनले हिजो नै निजी विद्यालयलाई आन्दोलनमा सहभागी नगराउन परिपत्रसमेत गरेको उनको भनाइ छ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले स्कुल कलेजले विद्यार्थीहरूलाई आन्दोलनमा जानु नभनेको बताए।
उनले भने,‘विद्यालय,कलेजले आन्दोलनमा जानु भनेका छैनौँ,कतिपयको बिहान ११ बजेसम्म पढाइ सकिन्छ,त्यही भएर उहाँहरू आफै स्वतस्फूर्त आन्दोलनमा गएका हुन।’

यो आन्दोलन नै जेनजी रहेकाले उनीहरू जाने गरेको उनको भनाइ छ। ‘आन्दोलन गर्नेहरूको पुस्ता नै त्यही उमेरका भएकाले हुनसक्छ,उहाँहरू जानुभएको,कतिपयलाई अरू कसैले उचालेर आन्दोलनमा लगेको पनि हुनसक्छ,आजको यो घटनाले दु:ख तुल्याएको छ,’उनले भने।

सरकारले गरेको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले आन्दोलन गरेको हो। आन्दोलनकारीहरूले संसद भवनभित्र छिरेर आगो लगाए। संसद भवन परिसरको बार पनि भत्काएका छन्। उनीहरू​काे आन्दोलन हालसम्म पनि जारी छ। थाहा खबर

TOP