जेनजीका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा सर्वपक्षीय अन्तरिम सरकार गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन्।

पार्टीले आइतवार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित रहस्यमय ढंगले गठन भएको आरोप लगाउँदै तत्काल खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका हुन्। वर्तमान सरकारले देशलाई अर्को राजनीतिक संकट र विद्रोहतर्फ धकेल्ने आफ्नो पार्टीको विश्लेषण रहेको उनको भनाइ छ।

उनले अन्तरिम सरकारमा जेन–जीको सहभागिता समेत हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकार खारेज गरी जेनजीका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने जोड दिए। उनले वर्तमान सरकारले चुनावको वातावरण समेत बनाउन नसकेको आरोप लगाए। उनले जबर्जस्ती निर्वाचन गरेर मुलुकलाई दलालको हातमा दिने कार्य गर्ने दिशामा सरासर अगाडि बढिरहेको आरोप समेत लगाए।

नेपालका उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, व्यवसायी, बुद्धिजीवी तथा सत्ताबाहिर बसेर देशको स्वायत्तता र स्वाधीनताका लागि लडेका दलहरूलाई समावेश गरेर सर्वपक्षीय सरकारमार्फत संविधान सुधार गरेर मात्र निर्वाचनमा जानुपर्ने उनको जिकिर छ।

उनले अहिलेसम्म राज्यसत्तामा बसेका नेताहरूको सम्पति छानबिन गर्न आयोग गठन गर्न समेत माग गरे। उनले मुलुकमा रहेको कालोधन समाप्त पार्न ५ सय र एक हजारका नोटहरू बन्द गर्नुपर्ने बताए। थाहा खबर

TOP