व्यावसायिक पुष्पखेती घट्दै गएपछि बाँकेमा फूल अभाव

बाँके : व्यावसायिक पुष्पखेती घट्दै गएपछि बाँकेमा फूल अभाव भएको छ ।

भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्यवसायी क्रमशः विस्थापित हुँदै गएका हुन् ।

केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यावसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमी पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले जानकारी दिइन्।

‘भारतबाट बिनाभन्सार, बिनाक्वारेन्टाइन र बिनाजाँच विभिन्न किसिमका फूलमाला नेपालगञ्जमा आउँछन्। हामीले वर्षभरि दुःख गर्छौँ, उत्पादन गर्छौँ, हाम्रो मूल्य नै आउँदैन ।‘पुष्प व्यवसायी चर्तीमगरले भनिन्, ‘पारिबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुन्छ। हामीले मूल्य पनि पाउँदैनौँ, मेहेनत गरेर उत्पादन गरेको फूलले बजार नपाउँदा विस्तारै पुष्प व्यवसायीहरू यो पेशाबाट विस्थापित हुँदै गएका छन्।’

सीमापारि भारतबाट आउने अवैध फूलमाला स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसक्दा बिनाजाँच, बिनाभन्सार र बिनाक्वारेन्टाइन अवैध रूपमा नेपाल आउने प्लास्टिकलगायत फूलमालाका कारण बाँकेका पुष्प व्यवसायी मर्कामा परेकाले पुष्प व्यवसाय यो वर्ष कम भएको उनको भनाइ छ।

कोहलपुर नगरपालिका- ३ बाँकेकी पुष्प व्यवसायी विष्णु चौधरीले लगातारको घाटाका कारण यो वर्ष कम फूल उत्पादन गरेको बताताइन्। ‘बाँकेमा फूलखेती मैले शुरुदेखि नै गरेँ, हरेक वर्ष तिहारमा व्यापार राम्रै हुन्थ्यो तर विगत दुई वर्षदेखि लगातार घाटा भयो’, उनले भनिन्, ‘भारतबाट आउने फूलका कारण हामीले बिक्री गर्न सकेनौँ, उनीहरूले सस्तोमा बिक्री गरेका कारण हामीले प्रतिस्पर्धा गर्न सकेनौँ, हाम्रो लगानी नै नउठ्ने भएपछि तिहारमा फूलखेती कम गर्न थालेका छौँ।’

बाँकेमा पुष्प व्यवसाय घटेपछि यतिबेला नेपालगञ्जमा फूलको अभाव देखिएको छ। प्रतिकेजी ५०० देखि ८०० रुपैयाँमा बिक्री गर्ने गरेको नेपालगञ्ज-२१ की सृजना थापाले बताइन्। थाहा खबर

TOP