पदमार्गको प्रवेश बिन्दुमै पर्ने फुतफुते झरनाको सौन्दर्य

म्याग्दी : दायाँ र बायाँ अग्ला पहाड। अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला। खोलाको जलप्रवाहले खिइएर बनेको कृत्रिम नाली जस्तै देखिने साँघुरो खोच। फेदीमा गोलो आकारको निलो ताल।

झट्ट हेर्दा ढुङ्गेधारा जस्तै देखिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको फुतफुते झरना मनमोहक र आकर्षक छ। अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेश बिन्दुमै पर्ने फुतफुते झरनाको सौन्दर्यमा नरमाउने कमै हुन्छन्।

कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको काठमाडौका सुझाव आचार्यले बताए। ‘अलौकिक र प्राकृतिक फुतफुते झरनामा आउँदा यात्राको थकान मेटियो’, उनले भने ‘फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाहिने आँखाको मोती खसेझैँ महशुस भयो।’

काठमाडौँका लक्ष्मण मर्हजनले फुतफुतेलाई अमेरिकाको ‘नाग्रा फल्स’सँग तुलना गरे। फुतफुते झरनाको वेसान आवाजमा रमाउँदा जलको मोतीमा डुबेको उनले अनुभव सुनाए। ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ।

‘सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ,’ काभ्रेकी अनुषा तामाङले भने ‘झरनाको फेदीमा रहेको निलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ।’ अग्लो पहाडबाट सेतो रंगमा खस्ने झरनाको फेदीमा बनेको निलो रंगको सफा तलाउ मनमोहक छ।

करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ। वनजंगल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको छ। नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ।

झरना र फेदीमा रहेको पानीको तलाउमा तस्विर र भिडियो खिचेर पदयात्री घण्टौँ रमाउँछन्। अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर तयार भएको यो पदमार्ग नयाँ गन्तव्यको रूपमा विकास भएको छ। दशैँयता दैनिक ३०० जनाको अनुपातमा आन्तरिक पर्यटक भित्रिएका मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताए।

‘सामाजिक सञ्जाल ‘फेसबुक’, ‘टिकटक’को फोटो भिडियो र सञ्चार माध्यम मार्फत फुतफुते झरनाको राम्रो प्रचार भएको छ,’ उनले भने ‘दुई वर्षअघि सम्म सुनसान फुतफुते झरनामा अहिले दिनभर पर्यटकको चहलपहल हुन्छ।’ छन्। फुतफुते झरना मौरिस हर्जोग पदमार्गको एक गन्तब्य बनेको छ।

नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ। धेरै पर्यटक फुतफुते झरना अवलोकन गरेर साँधीखर्क, गुफाफाँट, भुसकेट हुदै अन्नपूर्ण आधार शिविर तर्फ लाग्छन्। हिड्न नसक्नेहरु भने फुतफुते झरना हेरेर फर्किन्छन्। थाहा खबर

TOP