‘केपी ओलीसामू आत्मसमर्पण गर्नेहरूले विद्राेहकाे औचित्य पुष्टि भएन भनिरहेका छन्’

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीकाे सम्मानित नेता झलनाथ खनालमाथि कटाक्ष गरेका छन्। काठमाडौंमा बुधवारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले ‘विद्राेहकाे ‍औचित्य पुष्टि नभएकाे’ भन्ने नेता खनालकाे दाबीलाई ‘केपी ओलीसामू आत्मसमर्पण’काे संज्ञा दिएका हुन्।

अध्यक्ष नेपालले एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही नभएकाे टिप्पणी गरे। उनले ओलीसामू ‘लम्पासार पर्ने’हरूलाई पार्टी छाडेर जान चुनाैतीसमेत दिए।

अध्यक्ष नेपालकाे भनाइ:–

सत्तामा बसेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्युत गर्ने काम भयो । उनको शासनको बारेमा धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यकता छैन ।

पार्टी सञ्चालनको उनको तरिकाको बारेमा पनि हामी सबै भुक्तभोगी पनि भएका छौं । त्यसो हुनाले हामीले तिनका विरुद्धमा, एमालेको नेतृत्वको विरुद्धमा हामीले विद्रोहको कुनै औचित्य छैन भन्ने कुराको कुनै तर्क, दम पनि छैन । यी सबै घटनाले त्यसलाई पुष्टि गरेको छ ।

यस भन्दा पहिले पनि हामीले महाधिवेशनमा पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ भन्ने अनुमोदन गरेका छौं । केन्द्रीय कमिटी बैठकमा पनि हामीले पास गरेका छौं । र अहिलेको घटनाक्रमले झन् प्रष्ट पारेको छ ।

त्यसैले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्नेकुरा बाहेक अरु केही हुन सक्दैन । त्यो हामीलाई मन्जुर भएन, स्वीकार्य भएन ।

त्यसो भएको हुनाले देशभरका कार्यकर्ताहरूको त्यो प्रवृत्तिका विरुद्ध जुध्नका लागि तयार भए । र, हामीले आफै पार्टी नयाँ पाटी निर्माण गर्‍याैँ।’ थाहा खबर

TOP