पर्यटन क्षेत्र र औद्योगिक उत्पादन ध्वस्त भएकाले श्रमिकको जीवनस्तर

काठमाडौँ : बदलिदो आर्थिक र औद्योगिक परिवेशका कारण श्रम तथा रोजगारी क्षेत्र व्यापक संकटमा रहेको श्रमिक नेताहरूले बताएका छन्।

‘बदलिदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा उनीहरूले पछिल्लो समय श्रमिकहरू समस्यामा परेको बतएका हुन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालको जेनजी आन्दोलनले श्रमिकलाई झनै ठूलो समस्यामा पारेको बताए।

उनले पछिल्लो समय पर्यटन क्षेत्र र औद्योगिक उत्पादन ध्वस्त भएकाले श्रमिकको जीवनस्तर भयावह बन्दै गएको जानकारी दिए। उनले न्यूनतम ज्याला कार्यान्वयन हुन नसक्दा पनि श्रमिकहरू समस्यामा परेको उल्लेख गरे। उनले हालै नर्सले समेत न्यूनतम ज्याला कार्यान्वयन गराउन आन्दोलन गर्नुपरेको स्मरण गरे।

श्रेष्ठले भने, ‘राम्रो गर्न गरेका काम सबैभन्दा खराब भयो भनेर हामी भन्न सक्छौ। पर्यटन क्षेत्र ध्वस्त भयो, औद्योगिक क्षेत्र ध्वस्त भयो। सबैतिर ध्वस्त हुँदाहुँदै अब मजदुर फ्वाट, मजदुर वर्ग डिप्रेशनको सिकार हुनुपर्ने बाध्यता आइरहेको छ। भएको न्यूनतम ज्याला पनि दिइरहेको छैन।’

नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाल लगायत विश्वको श्रमबजारलाई नै अस्थिर बनाउने प्रमुख कारण अनौपचारिक क्षेत्रको वृद्धि भएको बताए। उनका अनुसार हाल ८५ प्रतिशभन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा रहेका छन्। उनले न्यूनतम ज्याला कार्यान्वयन अहिलेको सबैभन्दा ठूलो समस्या रहेको बताए। न्यूनतम ज्याला लागू नभई सामाजिक सुरक्षा कार्यान्वयन सम्भव नरहेको उनले स्पष्ट पारे।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) बुधवार ‘बदलिँदो परिवेशमा श्रम, रोजगारीका विषयहरू र आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय संवाद कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा सहभागीहरूले श्रम क्षेत्रमा देखिएको अव्यवस्था, न्यूनतम ज्याला कार्यान्वयन नहुनु, अनौपचारिकीकरणको तीव्रता र सामाजिक सुरक्षा कोषको कमजोर सहभागिता यस क्षेत्रका प्रमुख चुनौती रहेको औँल्याएका छन्। थाहा खबर

TOP