अमेरिका-भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा

अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन् । दुवै देशले संयुक्त वक्तव्य जारी गरी सम्झौताको औपचारिक घोषणा गरेका हुन् ।२ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए । त्यससँगै भारतविरुद्ध लगाइएको ५० प्रतिशत ट्यारिफ(आयात शुल्क) घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका थिए ।त्यो बेला व्यापार सम्झौताबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन । तर, अहिले संयुक्त वक्तव्य जारी भएपछि धेरै कुरा बाहिर आउका छन् ।भारतका वाणिज्य मन्त्री पीयूष गोयलले एक्समार्फत वक्तव्य जारी गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ताहरूहरू ३० ट्रिलियन डलर (झन्डै ४३३ खर्ब बढी नेपाली रुपैयाँ) को बजार खोल्ने बताएका छन् ।उता ह्वाइट हाउसले एक कार्यकारी आदेश जारी गरेको छ । जसमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको, अमेरिकाका ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्न तयार रहेको बताएका छन् ।सम्झौताअनुसार अमेरिकाले भारतबाट आउने उत्पादनमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’ घटाउने जनाएको छ । यस कटौतीपछि भारतीय सामानमा ट्यारिफ दर १८ प्रतिशत कायम रहनेछ ।ह्वाइट हाउसको वक्तव्यअनुसार अन्तरिम व्यापार सम्झौताको एक फ्रेमवर्क तय भइसकेको छ र केही सर्तहरू पनि निर्धारण गरिएका छन् । अनलाइनखबर

TOP