‘प्लाज्मा थेरापी’ उपचारमाथि विशेषज्ञकाे प्रश्न
काठमाण्डाै – देशका विभिन्न अस्पतालमा ‘प्लाज्मा थेरापी’ बाट कोभिड–१९ सङ्क्रमणको उपचार भइरहेको सम्बन्धमा विशेषज्ञहरुले प्रश्न उठाएका छन् ।
सरकारले देशभर २२ वटा अस्पतालमा कोभिड–१९ सङ्क्रमितकाे ‘प्लाज्मा थेरापी’बाट उपचार गरिरहेको छ । तर प्लाज्माको उपचार विधि सम्बन्धमा विशेषज्ञहरुले भने प्रश्न उठाएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सिफारिसमा विभिन्न अस्पतालामा प्लाज्मा थेरापीबाट परीक्षणको रुपमा उपचार भएपछि विशेषज्ञहरुले प्रश्न उठाएका हुन् ।
प्लाज्मा थेरापीको क्लिनिकल ट्रायल नभइकन उपचार गर्न खोज्दा दुर्घटना निम्तिन सक्ने विशेषज्ञहरुको भनाइ छ । रक्त विशेषज्ञ डाक्टर विशेष पौडेलले प्लाज्माबाट हुने उपचार कोभिडको लागि प्रमाणित भइसकेको थेरापी नभएको बताउनुभयो । उहाँले उपचारका लागि केही पाइएन अब प्लाज्मा दिउँ भनेर बिरामीको जीवनमाथि खेलबाड गर्ने काम गर्न नहुने पनि स्पस्ट पार्नुभयो ।
प्लाज्माले काम गर्न सक्ने भए पनि यो नै कोरोनाको अन्तिम उपचार हो भनेर प्रचार गर्न नहुने पनि डाक्टर पाैडेलले बताउनुभयो । उहाँले एनएचआरसीले दुईदेखि तीन सय बिरामीमा क्लिनिकल ट्रायल पूरा गरी प्लाज्माले के कति काम गर्याे भन्ने सम्बन्धमा जानकारी नदिँदासम्म कोभिडको लागि प्लाज्मा विधिबाट उपचार गर्न नहुने स्पस्ट पार्नुभयो । क्लिनिकल ट्रायल पनि बिरामीको स्वीकृति नलिइकन गर्न नहुने उहाँले बताउनुभयो । तर अहिले बिरामीको उपचार नै प्लाज्मा विधिबाट सुरु गरिएकोमा त्यसलाई मान्न नसकिने उहाँले बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का खोप वैज्ञानिक डाक्टर तीर्थराज घिमिरेले प्लाज्मा विधिबाट गरिने उपचार शतप्रतिशत सफल नहुने बताउनुभयो ।
कुनै व्यक्ति कोभिड–१९ को बिरामी भए त्याे व्यक्तिको रगतमा कोभिड–१९ विरुद्धको एन्टिबडी सर्कुलर हुने र त्याे व्यक्ति निको भएमा उसको शरीरको रगतबाट प्लाज्मा निकालेर अर्को व्यक्तिलाई उपचार गर्ने विधि प्लाज्मा थेरापी विधि हो । यो विधिबाट गरिने उपचार शतप्रतिशत नहुने भएको थाहा हुँदै पनि नेपालमा किन आयो भन्ने आफूले बुझ्न नसकेको पनि उहाँले बताउनुभयो ।
एनएचआरसीका सदस्य सचिव डाक्टर. प्रदीप ज्ञवालीले भने प्लाज्मा थेरापीबाट क्लिनिकल परीक्षण भन्दा पनि अब्जरभेशन परीक्षणको रुपमा उपचार सुरु गरिएको बताउनुभयो । अहिले नै उपचारको विधिको रुपमा सबै बिरामीलाई प्रयोग नगरिएको उहाँले स्पस्ट पार्नुभयो । पहिलो चरणमा प्लाज्मा थेरापी गराइएका सङ्क्रमित र नगराइएका सङ्क्रमितको बीचमा तुलना गरी निष्कर्षमा पुग्नका लागि परीक्षण गरिएको बताउनुभयो । अहिले देशभरका २२ वटा अस्पतालमा प्लाज्मा थेरापीमार्फत परीक्षण उपचार गरिएको पनि उहाँले बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमण निको भइ अन्तिम पटक पीसीआर नेगेटिभ आएको कुनै पनि व्यक्तिबाट दुई हप्तापछि मात्रै प्लाज्मा लिन सकिने पनि उहाँले बताउनुभयो । त्यस्तो प्लाज्मा बिरामीको स्वीकृति विना दिन पाइँदैन । प्लाज्मामा भाइरसविरुद्ध एन्टिबडी तयार हुने र अन्य सङ्क्रमितलाई त्याे प्लाज्मा दिँदा निको हुन्छ भन्ने मान्यताअनुसार बिरामीको स्वीकृति लिएर नै परीक्षणको सुरुवात गरिएको उहाँले स्पस्ट पार्नुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


