बाग्लुङ बाढी पहिराे : सनाखत भएका १४ वटै शव आफन्तलाई बुझाइयो

बाग्लुङ – बाग्लुङको ढोरपाटन नगरपालिका ९ काे बोवाङमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएका १४ जनाको शव पहिचान भएको छ ।

शुक्रबार बिहान पहिचान भएका चार र दिउँसो पहिचान भएका १० गरी १४ वटा शव आफन्तलाई जिम्मा लगाइएको हो । बाढीमा परि ज्यान गुमाएका १४ जनाको शव मात्र फेला परेको थियो ।

पहिचान भएका ढोरपाटन नगरपालिका ९ की २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ती मगर, ३२ वर्षीया सीता बुढा, २६ वर्षीया केशमाया विक, ११ वर्षीय मदन विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको शव आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । 

त्यसैगरी ६ वर्षीय विराज विक, ६५ वर्षीया ज्योति पुन, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनि विक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर विकको शव पहिचान गरी जिम्मा लगाइएको भण्डारीले बताउनुभयो ।

घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य भइरहेकाे छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले नदी किनारमा खोजफ गरिरहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । 

बाढी पहिरोले बोबाङको फल्लेघर, सुकुरदुङ, घट्टबोट, लाकुरीबोट लगायतका स्थानका धेरैजसाे घर क्षतिग्रस्त देखिएको उहाँले बताउनुभयो । 

वडा नं. ९ र ८ मा झण्डै ४० घर बगेको देखिएपछि वडाबाट आवश्यक तथ्याङ्क सङ्कलन सुरु भएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताउनुभयो । 

पहिरोका कारण ८० घरमा पूर्ण क्षति, ५१ घरमा आंशिक क्षति, ११ वटा लघु जलविद्युत्, स्वास्थ्य इकाइ एक, झोलुङ्गे पुल ११, ढलान पुल पाँच, काठे पुल १० र दुई विद्यालयमा क्षति पुगेको नगरपालिकाले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।  

TOP