ललितपुरमा बल्न थाले ‘स्मार्ट’ बत्ती
ललितपुर – ललितपुर महानगरपालिकाका मुख्य सडकमा धमाधम ‘स्मार्ट’ बत्ती जडान भइरहेका छन् । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान गर्न थालिएको हो ।
अहिले सातदोबाटोदेखि लगनखेल, लगनखेलदेखि कुमारीपाटी, कुमारीपाटीदेखि जावलाखेल, जावलाखेलदेखि पुल्चोक र पुल्चोकदेखि कुपण्डोलसम्म पोल राखेर बत्तीको लाइन राख्ने काम भइरहेको छ । ६ सय ६९ बत्ती राख्न आवश्यक रहेकाे महानगरले जनाएकाे छ । त्यसमध्ये तीन सय ३२ नयाँ पोलमध्ये एक सय आठ पोल गाडिसकिएको छ । यसअघि भएका पुराना पोलको प्रयोग गरिएको छ । जुन ठाँउमा बत्ती राख्नुपर्ने हो त्यो ठाँउमा पहिलेकै पोल भएमा त्यही पोल प्रयोग गरिएको छ ।
ठाँउ–ठाँउमा नाङ्गो तार पनि छन्, त्यो हटाएर एबीसी तार राख्ने काम भइरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार १९ सय पाँच मिटर तार राखिसकिएको छ । कुपण्डोलदेखि पुल्चोकसम्म र सातदोबाटोदेखि लगनखेलसम्म स्मार्ट बत्ती बल्न थालिसकेको छ । लगनखेल, कुमारीपाटी र जावलाखेल क्षेत्रमा भने पोल गाड्ने काम भइरहेको छ ।
ललितपुर महानगरले पहिलो चरणमा तीन वटा रूटमा सडक बत्ती जडान गर्दैछ । पहिलो रूट कुपण्डोलको वाग्मती पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो पर्छ भने दोस्रो रूट हिमालयन होटल, पाटन ढोका, अशोक हल, मङ्गलबजार हुँदै लगनखेल पर्छ । त्यस्तै पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्मको बाटोलाई तेस्रो रूट तोकिएको छ ।
पहिलो चरणको काम आधा सकिएको छ । त्यसपछि दाेस्रो चरणको काम गर्न अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । दोस्रो चरणमा एकान्तकुनाबाट बुङमती, खोकना र सातदोबाटोबाट सुनाकोठी हुँदै धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको छ ।
रातको समयमा सर्वसाधारणको आवत जावत सहज र सुरक्षित बनाउन स्मार्ट बत्ती जडान गर्न थालिएको प्रवक्ता महर्जनले बताउनुभयो । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक हिसाबले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको उहाँको भनाइ छ ।
यो बत्ती सोलार बत्तीभन्दा कम खर्चमा जडान हुने महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बत्ती सोलार बत्तीभन्दा निकै किफायती र प्रभावकारी भएको एक अध्ययनले नै देखाएको छ ।’ यो परियोजनाको भ्याटसहित कुल लागत पाँच करोड बीस लाख रुपैयाँ रहेको महानगरले जनाएको छ । सडक बत्ती बालेबापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुने र मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्ने महानगरले जनाएको छ ।
यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । त्यसैले पोलैपिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न बत्ती जडान भएको ठाउँमा जानुपर्दैन, सर्भर रुमबाट नै गर्न सकिन्छ । सर्भर रुम भने विद्युत् प्राधिकरणमै रहने छ । यो बत्ती साँझको समयमा बढी चहकिलो हुन्छ तर मध्यराति भने केही मधुरो बल्छ । गाडी वा बटुवाको चाप हेरेर बत्ती स्वतः चहकिलो र मधुरो हुँदै जान्छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


