स्मृतिमा बनारसीलाल !
भाषा, भेग, संस्कृति र पत्रकारिताको माध्यमबाट समाज परिवर्तन गर्न सम्भव छ, भन्ने दर्बिलो विश्वासलाई आफ्नो जीवनभर डगमगाउन नदिई नयाँ पुस्तामा चेतना प्रवाह गर्ने कपिलवस्तुको पत्रकार जगतको एउटा स्मरणीय धरोहर हुन्, बनारसीलाल बर्मा ।
कपिलवस्तुको यशोधरा गाउपालिका ६ (साविक सुठौली गाबिस वडा नम्बर ३) मा जन्मिएर सदरमुकाम तौलिहवालाई कर्मथलो बनाइ मधेश र सिंगो कपिलवस्तुको विकास र खबरदारीमार्फत सुप्रवाह गरिरहने बनारसीलाल बर्माको भौतिक देह अब यो धर्तीमा नरहे पनि उहाँका कर्मले छरेको सुगन्धले आजको पुस्तालाई अविचलित, निष्ठावान, कर्मशील र सादगी जीवन व्यतित गर्न उत्प्रेरित गरिरहने छ ।
स्व. गौरीशंकर बर्मा र स्व. शान्तीदेवी बर्माका एक मात्र सन्तानका रूपमा २०१७ साल श्रावण ५ गते जन्मिएका बनारसीलाल बर्माको सिङ्गो जीवन पत्रकारिता, समाजसेवा, वैदिक सनातन हिन्दू संस्कृतिको सम्वद्र्धनमै व्यतित भयो ।
अभाव, अफ्ठ्यारा, असजिला घुम्तीहरुमा पनि हँसिलो चेहरामा प्रस्तुत हुन सक्ने धैर्यताका प्रतिबिम्व बनारसीलाल बर्माको जीवन यात्रामा २०३६ सालदेखि साथ दिइन् इन्द्रावती बर्माले ।
जीवनको यो यात्रालाई पूर्णता दिने लहरमा उभिए सन्तानहरु बासुदेव (अजय), सोमेश्वर (बिजय) लक्ष्मी र सुमन । भारत सिदार्थनगरबाट प्राइमरीदेखि इन्टरमिडिएटसम्म अध्ययन गरि नेपालको कञ्चनपुर (महेन्द्रनगर) मा उहाँको जीवनका केहि आयामहरु ब्यतित भए ।
सानै उमेरमा पिताशोकमा पर्नुभएका बर्माले बिक्रम सम्वत् २०३६ सालदेखि गृहस्थी सम्हाल्दै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्न शुरु गुर्नभएको थियो । २०४७ सालदेखि पत्रकारिता क्षेत्रमा लाग्नुभएका बर्माको दैनिकीमा विक्रम सम्वत् २०५४ सालबाट नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनमा जोडिन पुग्नुभयो । यहीबाट उहाको पत्रकारिता र समाजसेवाप्रतिको लगाव बढेको देखिन्छ ।
त्यही सिलसिलामा कपिलबस्तुको पत्रकारिता इतिहासको दुईपटक उपाध्यक्ष पदमा उहाँ निर्वाचित हुनुभएको थियो । यस्तै छैठौं अधिवेशन (२०७३) बाट बर्मा केन्द्रिय पार्सदमा समेत चयन हुनुभएको थियो ।
परिपक्क युवा उमेरमा पत्रकारिता प्रारम्भ गरेका बर्माले आफ्नो जीवन पर्यन्त पत्रकारिता र समाज सेवालाई नै आफ्नो परिचय बनाउनुभयो । पत्रकारिता, समाजसेवा र संस्कृतिप्रेम त्रिक्षेत्रलाई एकै साथ अङ्गीकार गर्न सक्षम बर्मा नेपाल र भारतका हिन्दुत्व, विकासप्रेमी, अनुष्ठान–परायण र सञ्चारकर्मी बीच समन्वय गर्ने दरिलो सम्पर्क सूत्रका रूपमा परिचित हुनुहुन्थ्यो ।
“समाजसेवा नै समाज विकासको आधार हो” भन्ने मान्यतालाई आत्मसात गर्नुभएका समाजसेवी बर्मा लामो समय समाजसेवामै तल्लिन रहनुभयो ।
जवाफदेहिता निगरानी समितीको संयोजक (२०६९–२०७३), तौलेश्वरनाथ मन्दिर ब्यवस्थापन समितीको अध्यक्ष (२०७०–२०७५), मधेश मानव अधिकार गृह (माहुरी होम)का प्रेस सल्लाहकार, तौलेश्वरनाथ संस्कृत उच्च माविका अभिभावक संघका निर्वतमान अध्यक्ष, मधेसी पत्रकार समाजका बरिष्ठ केन्द्रिय उपाध्यक्ष, जेष्ठ नागरिक संघका जिल्ला सचिव लगायत बिभिन्न संघसंस्थाहरुमा आवद्ध रहि समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ ।
धर्म, संस्कृती र सिंगो समाजप्रति अगाध प्रेम र श्रद्धा पस्कने अनि आफ्नो स्वाभिमान प्रति अविचलित बर्मासँग फरक विचार र भावनालाई पनि सम्मानपूर्वक हेर्ने शालिनता थियो जो अरु सबैका लागि उदाहरणीय छ । त्यसैले पनि फरक आस्था र विचार बोकेकाहरुले पनि उनी प्रति हार्दिकता र सम्मान प्रकट गरिरहेका छन् ।
बुद्धकालिन समयभन्दा अघिको तौलेश्वरनाथ महादेव मन्दिरको राष्टिय तथा अन्र्तराष्टिय स्तरमा प्रचारप्रसार र संरक्षण/संवद्र्घनमा उहाँको अतुलनिय योगदान रहेको छ ।
पदलोलुपताको जालोबाट अलि परै रहेर निस्वार्थ भाव लिई आफ्नो आस्था र विचारमा अविचलित बर्माको जीवनयात्रामा प्राप्ति भएका प्रतिष्ठित सम्मान र पुरस्कारले समयका विभिन्न कालखण्डमा उहाँ प्रतिको विश्वास र श्रद्धालाई जो कोहीले सहज अध्ययन पनि गर्न सक्दछ ।
नेपाल टेलिभिजनबाट हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार (२०७०), भगवानदास स्मृति प्रतिष्ठान सम्मान, इन्डोनेपाल सामाजिक मञ्च नेपाल सम्मान, ६६ औं अन्र्तराष्टिय मानव अधिकार सम्मान, अधिकार र न्यायका क्षेत्रमा भूमिका निर्वाह गरेवापत्का तमाम सम्मान प्राप्त ब्यक्तित्व बर्मालाई हामी सरल, सौम्य र सादगी जीवनयापन गर्ने व्यक्तित्वका रूपमा चिन्न सक्दछौं ।
आफ्नो कर्म क्षेत्रसँग सम्वन्धित दुई दर्जनभन्दा बढी पुरस्कार, सम्मान र कदरपत्रद्वारा बनारसीलाल बर्मा सुशोभित भइसक्नुभएको छ । जसले अवसर र सम्मानको आशाभन्दा पनि आफ्नो श्रम, समय र सीपलाई निस्वार्थ भावले समाज समक्ष प्रस्तुत ग¥यो ।
हो, त्यही व्यक्तिको भौतिक देह मृगौलाको डाइलाइसिसको उपचारको क्रममा देहान्त हुँदा उहाँले अभिभावकत्व ग्रहण गरेका सामाजिक संस्थाहरु स्तब्ध हुन पुगे ।
अग्रजलाई सम्मान र आदर गर्नुपर्ने आदर्श वाक्य नविन पुस्तामा बाँडेर सबैसँग सुमधुर सम्बन्ध कायम गर्न सक्ने सरल र मिजासिला व्यक्तित्वका रूपमा परिचित बनारसीलाल बर्माको बियोगलाई आत्मानुशरण गर्नुपर्ने देखिन्छ ।
यो वियोग घर गृहस्थीको अभिभावकीय भूमिकासँग मात्र थिएन, बनारसीलाल बर्मा रोगसंग लड्दालड्दै सधैँका लागि भौतिक अस्तित्वबाट विलिन हँुदै गर्दा सिंगो समाजले निरन्तर साधनामा क्रियाशील एउटा साधकलाई गुमाएको छ ।
निष्ठा र इमान्दारिताको सञ्चार कर्म गर्ने अग्रज पत्रकारलाई गुमाएको छ । पत्रकारितामार्फत सिंगो कपिलवस्तु र मधेशको बाञ्की सुनाउने सच्चा मधेशपुत्र गुमाइएको छ ।
प्राकृतिक मृत्युवरणलाई संसारको रित यस्तै हो भनेर मन बुझाउन अभ्यस्त तपाईं हामीलाई बनारसीलाल बर्माको असामयिक निधनले अलि बढी नै विक्षिप्त पनि बनाएको छ ।
निरन्तरता, लगनशीलता, मेहनती र खरो स्वभावका पर्याय यिनै सामाजिक अभियन्ता स्व. बनारसीलाल बर्माको व्यक्तित्व र कृतित्वलाई सजिव तुल्याउन अनि उनको सादगी जीवनको सन्दर्भलाई नयाँ पुस्तामा सम्प्रेषण गर्नका लागि कपिलवस्तु पत्रकार जगत् लागिपर्नु आवश्यक छ ।
यस घडीमा उहाँको लगाव, निष्ठा, इमान्दारिता, स्वाभिमान र लगनशीलतालाई अनुशरण गरी समाज निर्माणमा चालिएका उहाँका पदचापहरुलाई पछ्याउँदै अघि बढ्नु नै स्वर्गीय बनारसीलाल बर्मा प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


