राैतहटका उखु किसान भन्छन्, ‘चिनी उद्याेगबाट लिन बाँकी भुक्तानी दशैँअघि नै पाउने व्यवस्था मिलाइदिनुस्’

काठमाण्डाै – रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । 

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । उखु उत्पादक सङ्घका सचिव सफिन्द्रप्रसाद यादवले समिति सभापति विमलप्रसाद श्रीवास्तवलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरु मारमा परेको गुनासो सचिव यादवले गर्नुभयो । उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैँअघि नै पाउने व्यवस्था मिलाइदिन पनि किसानहरुले समितिसमक्ष माग गरेका छन् ।

त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी झण्डै चार करोड रुपैयाँ नपाएको भन्दै दशैँ अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफूहरु आशावादी रहेको पनि किसानहरुको भनाइ छ । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरु अन्योलमा परेको किसानहरुकाे गुनासो छ ।  

किसानहरुले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका हजारौँ व्यक्ति समस्यामा परेकोले उनीहरुकाे आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरि सुरु गर्ने वातावरण मिलाइदिन समेत माग गरेका छन् ।

रौतहटमा झण्डै १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौँ घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको भनाइ छ ।

TOP