मुकेश चौरसियाको हत्या आरोपमा थप एकजना पक्राउ

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकाका मुकेश चौरसियाको हत्यामा संलग्न एक आरोपी पक्राउ परेका छन् । प्रहरीले विन्दवासीनी गाउँपालिका–४ मधवल बस्ने ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा पूर्व सभासद राजकुमार गुप्तासहित १२ जना विरुद्ध जाहेरी दर्ता परेको भएपनि हालसम्म प्रहरीले तिवारी समेत तीन जनालाई मात्रै नियन्त्रणमा लिएको छ । अन्य आरोपी भने फरार छन् ।

खोजतलासको क्रममा आइतबार वीरगञ्ज– १६ इनर्वा गाउँबाट तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एव‌ं प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । प्रहरीले तिवारीलाई इनर्वा गाउँबाट नियन्त्रणमा लिएको भनेपनि सादा पोशाकमा खटिएको ‘क्राइम ब्रान्चको टोली’ले भारत बिहारको अरेराजबाट पक्राउ गरेर ल्याएको स्रोतले जनाएको छ ।

कात्तिक ६ गते विन्दवासिनी– ५ प्रसौनी गाउँस्थित सेलर मिलको भवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विन्दवासीनी गाउँ कमिटिको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । सोही दिन कार्यक्रम स्थल बाहिर दुई पक्षबीच झडप भयो । झडपको क्रममा बाँसको भाटाले एक अर्कालाई प्रहार गर्ने क्रममा विन्दवासिनी–५ का ३४ वर्षीय मुकेश चौरसिया घाइतेसहित केही व्यक्ति घाइते भएका थिए । वीरगञ्जकै एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा कात्तिक ७ गते १२ः३० बजेको समयमा मुकेशको मृत्यु भएको थियो ।

TOP