ठेक्कामा शैलुङको शैली : मोबिलाइजेसन रकम लिने, काम नगर्ने

काठमाडौं । ललितपुरको सुनाकोठीवासीले आइतबार सडक अवरुद्ध गरेर अनिश्चितकालीन बन्द घोषणा गरेका छन् ।

विस्तारका लागि भनेर भत्काइएको सडक वर्षौं अलपत्र छाडेपछि स्थानीयले पटक–पटक यस्तो आन्दोलन गर्दै आएका छन् । चार महिनाअघि पनि उनीहरु यसैगरी आन्दोलित बनेका थिए । त्यति बेला तुरुन्तै सडक कालोपत्रे गर्ने सहमतिमा आन्दोलन रोकिएको ललितकृष्ण महर्जन बताउँछन् ।

स्थानीयले सडक भत्काएर अलपत्र छाड्ने ठेकदारविरुद्ध विभिन्न ठाउँमा ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार !’ नारा लेखेर टाँसेका छन् ।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडकको एक खण्डको ठेक्का दिवा–शैलुङ जेभीले लिएको ६ वर्ष बित्यो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी यो सडक खण्डको ठेकदार हुन् । प्रचण्ड बसेको अधिकारी निवास यही सडक खण्डको ढोलाहिटीमा छ । त्यहाँसम्म सडक बिस्तारको काम सकिएको पनि छ ।

आफू बसेको घरसम्म सडक चिल्लिएपछि दाहाललाई कुनै सास्ती छैन । त्योभन्दा पश्चिमका जनताको दिन भने मौसम अनुसार धुलो र हिलोमा गुम्सिएको छ । उनीहरु अधिकारी र उनको शैलुङ कन्स्ट्रक्सनसँग मात्र नभई नेता दाहालसँग पनि रुष्ट छन् ।

काठमाडौं सडक विस्तार आयोजनाले ठेक्का लगाएको यो सडक खण्ड रुग्ण अवस्थामा पुग्दा पनि शैलुङले काम सक्न पटक्कै चासो दिएको छैन ।

शैलुङको बदमासी यहाँ मात्रै छैन । शैलुङ ग्रुप अफ इन्डस्ट्रिज अन्तरगतको शैलुङ इन्टरप्राइजेजले २५ हजार टन युरिया मलको ठेक्का हत्याएर काम गरेन । मल ल्याउने अर्को ठेक्का पनि शैलुङकै हातमा छ ।

TOP