बिजुली बस सञ्चालन गर्न ७ वटा रुट तयार
मकवानपुर – वाग्मती प्रदेशकाे भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सात वटा रुट (मार्ग) तयार गरेको छ ।
मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाण्डौ उपत्यका र धादिङबेसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । यसका लागि मन्त्रालयले निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।
उहाँले साेमबार कुराकानी गर्दै चार्जिङ स्टेशन निर्माणका लागि एक सय १९ पालिकालाई सूचना आह्वान गरिसकिएको बताउनुभयो । उहाँका अनुसार यसका लागि भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका, गल्छी गाउँपालिकालगायत आठ पालिकाले चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउने आशय पत्र मन्त्रालयमा पठाइसकेका छन् ।
चार्जिङ स्टेशनको निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, सम्बन्धित पालिका र प्रदेश सरकारले संयुक्त रूपमा गृहकार्य गरिरहेका छन् ।
मन्त्री फुयाँलले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक पदपूर्तिका लागि सूचना प्रकाशन भइसकेको जानकारी दिँदै योग्यता र क्षमताका आधारमा नियुक्ति गरिने बताउनुभयो । प्रदेश सरकारको पहिलो नीति कार्यक्रममा प्रदेशभित्र आगामी २०८५ साल वैशाखसम्ममा इन्धनबाट चल्ने सवारी साधनलाई विस्थापन गर्ने र विद्युतीय सवारी साधनलाई वैकल्पिक रूपमा उल्लेख छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


