चिसो र प्रदूषणयुक्त हावाले स्वास्थ्यमा असर गर्छ, सावधानी अपनाऔँ
काठमाण्डाै – पुस लागेसँगै चिसो ह्वात्तै बढेको छ । जाडोले मुख्यतया बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरुहरुलाई बढी असर गर्छ । जाडो समयमा हाम्रो शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ । यो समयमा हावा चिसो र प्रदूषणयुक्त हुन्छ ।
यसले स्वास्थ्यमा नराम्रो असर गर्छ । कोठा तताउन प्रयोग गरिने विद्युतीय उपकरणहरुले पनि स्वास्थ्यमा असर गर्छ । गाउँघरमा दाउरा, कोइला बाल्ने चलन धेरै हुन्छ । यसले अर्को स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
यातायातका साधन र मेसिनहरुले निकालेको प्रदूषण पनि सतहमा रहिरहन सक्छ । त्यसले पनि स्वास्थ्यमा नराम्रो असर पर्छ । चिसोबाट बच्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको न्यानो लुगा लगाउने हो । न्यानो लुगा लगाउँदा बाहिरको चिसो हावा शरीरभित्र पस्न पाउँदैन ।
बाहिर हिँड्दा पसिनाले शरीर भिज्नु हुँदैन । शरीर भिजेमा शरीरको तापक्रम घट्ने र रोग लाग्ने सम्भावना हुन्छ । झोलिलो खानेकुरा खानुपर्छ । तातो पेय पदार्थ पिउनुपर्छ । सुगरलगायतका समस्या भएकाहरु र गुलियो खान नहुनेहरुले अरु नुनिलो, तातो, झोलिलो खानेकुरा खानुपर्छ । गुलियो खान समस्या नहुनेहरुले भने गुलियो र झोलिलो खानेकुरा खाँदा शरीरलाई शक्ति प्राप्त हुन्छ ।
कोरोनाको जोखिम अझै सकिएको छैन । जबसम्म नेपालमा कोरोना भाइरसको खोप आउँदैन, तबसम्म जोखिम रहिरहन्छ । यस्तो बेला कोरोनासँगै अरु रोगको जोखिम पनि हुने भएर सुरक्षा सावधानी अपनाउन भुल्नु हुँदैन ।मास्कले कोरोना मात्र नभएर अरु खालका सरुवा रोगबाट पनि बचाउँछ । त्यसैले घर बाहिर निस्कँदा र भीडभाडमा जाँदा अनिवार्य रुपमा मास्कको प्रंयोग गर्नुपर्छ।
हाम्रो देशको मौसम एकैखालको छैन । एकैछिन जाडो र एकैछिन न्यानो हुन्छ । एकछिन हिँड्दा तातो हुन्छ । गर्मी भयो भनेर न्यानो पारेर लगाएको लुगालाई हतपत खोलेर शरीरलाई चिसो पार्नु हुँदैन । त्यसो गर्दा पनि स्वास्थ्यमा समस्या हुन सक्छ । एकदमै गर्मी हुने तराईमा पनि जाडो समयमा एकदमै जाडो हुने गर्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँले हात तथा नाकको टुप्पो खाने समस्या हुन्छ ।
त्यसैले आफू कुन ठाउँमा र कस्तो अवस्थामा छ, त्यही अनुसारको सावधानी अपनाउनुपर्ने हुन्छ । मुख्य कुरा शरीरको संवेदनशील भागहरु जस्तै कान, घाँटी, टाउको, पैताला र हातलाई बढी न्यानो पार्नुपर्छ । यी अंगलाई न्यानो पार्दा पनि चिसो कम लाग्छ ।
जाडोमा धुम्रपान र मद्यपान गर्नु हुँदैन । यसले शरीरमा नकारात्मक असर गर्छ । गर्मीबाट जाडो हुँदा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्दै जान्छ, तर एक्कासी जाडो बढ्दा भने शरीरले जाडो सहन सक्ने क्षमताको विकास गरिनसकेको हुनाले स्वास्थ्यमा समस्या पर्न सक्छ ।
अर्को बिर्सनै नहुने कुरा, जाडो भयो भनेर बालबालिकालाई धेरै लुगा लगाई दिनु हुँदैन । पसिना आयो भने झन् चिसो भएर स्वास्थ्यमा समस्या हुन सक्छ । कसिलो गरी पनि लुगा लगाइदिनु हुँदैन । यी कुरामा विशेष ख्याल गर्नुपर्छ ।
(काठमाण्डौ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डाक्टर सुनिलकुमार जोशीसँगको कुराकानीमा आधारित)
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


