रसुवा : पैरेबेंसीमा एकीकृत बस्ती विकासका लागि जग्गा अधिग्रहणकाे काम सम्पन्न

रसुवा – २०७२ सालमा गएको भूकम्पको कारण विस्थापित भएकाहरूलाई एकीकृत बस्तीमा लैजानका लागि पैरेबेंसीमा जग्गा अधिग्रहणको काम सकिएको छ ।

रसुवाको विभिन्न ठाउँमा एकीकृत बस्ती विकास गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजनाअनुसार १ सय २८ परिवारका लागि करिब ३८ रोपनी जग्गा अधिग्रहण गरिएको हो ।

रसुवामा पाँच ठाउँमा एकीकृत बस्ती विकास गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रसुवा आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय रसुवाले जनाएको छ। पैरेबेंसीमा पर्याप्त जग्गा नभएका कारण जग्गा व्यवस्थापनको काम पनि भइरहेको कार्यालय प्रमुख विश्वराज मरासिनीले बताउनुभयो ।

रसुवाको विभिन्न ठाउँमा बसिरहेका विस्थापितलाई पुनर्वासको लागि जग्गा अधिग्रहणको काम भइरहेको छ । रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्डे बगरमा अस्थायीरूपमा बसोबास गर्दै आएका विस्थापितको पुनर्वासका लागि जग्गा व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मैलुङ, गोगने, डाँडागाउँ, तिरुलगायतको क्षेत्रबाट विस्थापित भएकाहरू अब एकीकृत बस्तीमार्फत पुनर्वासमा जाने छन् । लामो समयसम्म पुनर्वास प्रक्रियामा जान नसकेका भूकम्प पीडित प्रक्रिया अघि बढेसँगै खुसी भएका छन् ।

रसुवाको उत्तरगया गाउँपालिका-५, तल्लो पैरेबेंसीमा एकीकृत बस्तीमार्फत पहिलो चरणमा पुनर्वास गराउन जग्गा अधिग्रहण गरिएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका रसुवा पैरवी संयोजक विश्वास नेपालीले बताउनुभयो । उहाँकाअनुसार उत्तरगया-१ मा १२ जना र उत्तरगया-५ मा २५ जना जग्गाधनीले जग्गा उपलब्ध गराइसकेका छन् ।

खाल्डेका विस्थापितलाई दुई चरणमा तल्लो पैरेबेंसीमा पुनर्वास गराइने उहाँको भनाइ छ । खाल्डे बगरमा बसोबास गर्दै आएका विस्थापित अब एकीकृत बस्तीमार्फत पुनर्वास प्रक्रियाअघि बढेकामा खुसी लागेको विस्थापित क्याप्पका संयोजक छेकु तामाङले बताउनुभयो ।

विस्थापितलाई जग्गा उपलब्ध गराउने जग्गाधनीहरूलाई प्रतिआना १ लाख ७० हजार र १ लाख ७५ हजार रुपैयाँ मुआब्जा दिइने छ । रसुवामा भूकम्पका कारण १ हजार १ सय ९ परिवार विस्थापित भएकामा अहिलेसम्म ८ सय ९९ परिवारको सुरक्षित पुनर्वासका लागि जग्गा व्यवस्थापन भइसकेको छ ।

TOP