काठमाण्डाै उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत
काठमाण्डौ – काठमाण्डाै उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाण्डौ बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको हो ।
छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीहरूले दुःख खेप्नुपरेको गुनासो गर्नुभएको थियो । बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहाललगायत सङ्घका पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन सङ्घ तयार रहेको बताउनुभएको थियो ।
नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । अहिले काठमाण्डौ उपत्यकाबाहिरका व्यवसायी सुन खरिदका लागि काठमाण्डाैमा आउनुपर्ने बाध्यता रहेको छ ।
छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरूपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको सङ्घका पदाधिकारीहरूले बताए । राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्स सङ्घको सिफारिसमा बैंकहरूले विदेशबाट कच्चा सुनको आयात गरि महासङ्घको सिफारिसमा व्यवसायीहरूलाई सुन उपलब्ध गराउँदै आएको छ ।
मोफसलका जिल्लाहरूबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाण्डाैकाे भन्दा बढी लिने, मोफसलका जिल्लाहरूमा पनि सुनको स्टक राख्ने, बैंकपिच्छे फरक–फरक हुँदै आएको दरभाउमा एकरूपता ल्याउने, सुन खरिद गर्न बैंकहरूले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरि पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


