लकडाउनमा थलिएको पुष्प व्यवसाय बिस्तारै जुर्मुराउँदै

काठमाण्डाै – लकडाउनमा थलिएको पुष्प व्यवसाय बिस्तारै जुर्मुराउन थालेको छ।

कोरोना भाइरसको जोखिमका कारण ठप्प जस्तै भएको पुष्प क्षेत्र अन्य क्षेत्र जस्तै चलायमान हुन थालेको छ । व्यवसायीहरुले व्यवसाय विस्तार तथा सुरु गर्न आवश्यक तयारी थालेका छन् ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार कोरोनाको जोखिम कायमै भए पनि पर्यटन क्षेत्र चलायमान हुन थालेकाले पुष्प व्यवसायीमा पनि उत्साह थपिएको छ । तर, ढुक्क हुने अवस्था अझै नरहेकाले अन्याेल भने कायमै रहेको एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४२ करोड रुपैयाँभन्दा धेरैको वार्षिक कारोबार गरेको पुष्प व्यवसायले काेराेनाका कारण आर्थिक वर्ष २०७६/७७ मा भने २ अर्ब १५ करोड रुपैयाँ मात्र कारोबार गरेको थियो । यसैबीच, अब सातै प्रदेशमा पुष्प व्यवसाय विस्तार हुने भएको छ ।

यसका लागि एसोसिएसनले सातै प्रदेशका सरकारसँग छलफल गरेको छ । छलफलमा पुष्प व्यवसाय विस्तार गर्न स्थानीय सरकार सकारात्मक देखिएकाले आउँदो वैशाख महिनादेखि व्यवसाय सुरु गर्ने तयारी गरेको अध्यक्षकुमार कसजू श्रेष्ठले बताउनुभयो ।

TOP