आउँदाे चुनावमा ओलीकाे जमानत जफत हुन्छ : झलनाथ खनाल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता झलनाथ खनालले प्रधानमन्त्रीको प्रतिगमनविरुद्धको आन्दोलनले केपी ओलीको तानाशाहलाई समाप्त पार्ने चेतावनी दिनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले बिहीवार काठमाण्डौमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले शान्तिपूर्ण आन्दोलनको आवाज नसुने आन्दोलनको आगोले ओलीको तानाशाहलाई समाप्त पार्ने बताउनुभएको हो । प्रतिगमनविरुद्धको आन्दोलनमा सबै वर्ग, तह र नागरिक समाज पनि सहभागी भएकाले यो आन्दोलनको आवाज सुनिएन भने ठूलो आगो दन्किने नेता खनालले चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किने छ । जनआन्दोलनको आगो दन्किने छ । आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारेर छोड्ने छ ।’ 

प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव गराउने र आफूले दुई तिहाइ बहुमत ल्याउने भन्दै आएकोमा व्यङ्ग्य गर्दै उहाँले आउँदो चुनावमा ओलीको जमानत जफत हुने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हामी केपी ओलीलाई भन्न चाहन्छौँ– मिस्टर केपी ओली ! तपाईँका खुट्टी हेर्दै पत्यायौँ । अब तपाईँले दुई तिहाइ ल्याउने होइन तपाईँको जमानत जफत हुनेछ । दुई वर्ष पछि देशमा चुनाव हुन्छ । दुई वर्षपछिको चुनावमा हेर्नुहोला मेचीदेखि महाकालीसम्मका एक सय ६५ सिटमा तपाईँको जमानत जफत हुँदैछ । हामी आजै घोषणा गर्न चाहन्छौँ ।’ 

अहिलेको आन्दोलन नेकपाको दुई तिहाइ गुटको आन्दोलन नभएको र प्रतिक्रान्ति र तानाशाही केपी ओलीका विरुद्ध भएको भन्दै उहाँले आन्दोलनको वेग नरोकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली अहिले राजनीतिक र सैद्धान्तिक रूपले पराजित भइसकेका छन् । पशुपतिमा गएर सङ्कल्प पूजा गर्ने अवस्थामा पुगिसकेका छन् । उनलाई अब मार्क्सवादमाथि विश्वास छैन, विज्ञानमाथि विश्वास छैन र भविष्यमाथि पनि विश्वास छैन । उहाँको अब पशुपतिनाथको मूर्तिसँगमात्र विश्वास छ ।’ 

सबैलाई संयुक्त आन्दोलनमा एकजुट भएर सङ्घर्षलाई विजयको विन्दुमा पुर्‍याउन पनि उहाँले सबैलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन आयोग र आयुक्तहरूलाई धम्क्याउने काम गरेकाले पार्टीको आधिकारिताको निर्णय गर्न आयुक्तहरूलाई सकस परेको उल्लेख गर्दै उहाँले आधिकारिक पार्टी आफूहरू नै रहेकाले कानुन, प्रक्रिया मिलाएर छिट्टै घोषणा गर्न आग्रह गर्नुभयो । 

TOP