प्रचण्डकाे चेतावनी : ‘१० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस्’

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ ।

बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले नागरिककाे आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख नागरिक आउने बताउनुभएको हो ।

विरोध सभामा पाँच लाख मानिसहरू सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ, हेरेर ढिलो नगरि संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्म, भावना र नेपाली नागरिककाे चाहना विपरीतका काम भए दुर्भाग्य हुने समेत बताउनुभयो । विरोध सभाको उपस्थितिले सर्वोच्च अदालतलाई फैसला गर्न सहज हुने उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताउनुभएको छ । ७० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा आफूहरू आधिकारिक पार्टी भनी दश दिनभित्रै निर्वाचन आयोगमा भनेको उल्लेख गर्दै उहाँले त्यसलाई हिसाब नगरि केपी ओलीको धम्क्याइलाई मात्रै हिसाब गरे अयोगको खुट्टी नेपालले देख्ने उहाँको भनाइ छ ।

संवैधानिक निकायमा पुगेका मान्छेहरूले खेलाँची ठाने, देश र नागरिकले दुःख पाउने भन्दै अध्यक्ष प्रचण्डले त्यस्तो गल्ती कसैले गर्न नहुने बताउनुभयो । उहाँले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रहसमेत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरू फर्किन थालेको समेत बताउनुभयो । ओली सरकारका दुई जना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किनका लागि आफूसँग वार्ता गरिरहेको उहाँले दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो चुनाव क्षेत्रमा राम मन्दिर बनाउने बताएको बताउँदै अध्यक्ष दाहालले त्यस भूमि रामभूमि भएको ऐतिहासिक र पुरातात्त्विक रूपमा प्रमाणित गर्न अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूसँग पचासौँ वर्षसँगै काम गर्ने नेता तथा कार्यकताहरूलाई अपमान गरेर गल्ती गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव पनि दिनुभएको छ । ओलीले भूमि आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणीसमेत दाहालकाे छ । ओलीले नभइ सुकुम्बासीहरूलाई आफूहरूले जमिन दिने उहाँको भनाइ छ ।

उहाँले ओलीको निरङ्कुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । संयुक्त आन्दोलन गर्ने अवसरका रूपमा आएको भन्दै अवसर गुम्न नदिन उहाँको आग्रह छ । त्यसका लागि हातेमालो गर्न तयार रहेको दाहालकाे भनाइ छ ।

उहाँले छिमेकी देशहरूबाट आफूहरूको पक्षमा सद्भाव चाहेको पनि बताउनुभयो ।

TOP