बुबासँगै ओभरसियरको सपनालाई पनि दागबत्ती दिइन् महेश्वरीले
महेश अवस्थी, बैतडी
२१ जनाको परिवार । परिवारमा एक्लो जागिरे ४५ वर्षीय रामसिंह ऐर । जागिर थियो शिवलिङ्ग स्वास्थ्य चौकी सिगासको कार्यालय सहयोगी ।
एउटा कार्यालय सहयोगीको भरमा २१ जनाको परिवारको जीवन कसरी धानियो होला ? या कस्ता–कस्ता अभावकाबीच गुज्रियो होला ? तर जसरी–तसरी रामसिंहको परिवार गुज्रेकै थियो ।
रामसिंह जस्वा साहिलो छोरा हुन् । रामसिंहको अरू चार दाजुभाइको कुनै इलम छैन । रामसिंहकी ४१ वर्षीया श्रीमतीसँग दूधे छोरी छिन् । ६ छोरी र एक छोराको पिता हुन् रामसिंह ।
१४ वर्षअघि जस्वाले आफ्नो पत्नी नगुमाएको भए परिवारको सङ्ख्या २२ हुन्थ्यो । र यी सबैका एक मात्र भरोसा रामसिंह ।
२६ माघको बिहानै हतार–हतार कार्यालय हिँडेका रामसिंह सिगास ७ बैतडीको आफ्नो घर फर्किएनन् ।
साँझको ६ बजे श्रीमती नारुले रामसिंहलाई फोन लगाइन् । रामसिंहले भने, ‘अहिले पार्टीमा छु । आज यतै बस्छु ।’ पार्टीमा भएको पतिसँग योभन्दा धेरै कुरा हुन सकेन ।
अर्को दिन अबेरसम्म पनि रामसिंह घर नफिरेपछि नारुले फेरि पतिको नम्बरमा फोन गरिन् । यस पटक भने नारुको पति नभएर दूरसञ्चार बोल्यो, ‘माफ गर्नुहोला, तपाईँले सम्पर्क गर्नु भएको मोबाइलको स्विच अफ गरिएको छ । कृपया पुनः प्रयास गर्नुहोला ।’ त्यसपछिको जति प्रयासमा पनि उनले पतिको आवाज सुन्न पाइनन् ।
नारुले पाटनमा भीमदत्त पोलिटेक्निक कलेजमा ओभरसियर पढ्दै गरेकी जेठी छोरी महेश्वरीलाई बुबाबारे सूचना दिइन् । नारु छोरीलाई दूध चुसाउँदै भएभरका आफन्त र रामसिंहको साथीलाई फोन गरी पतिबारे थाहा पाउन चाहन्थिन् तर उनको मोबाइलमा रकम थिएन । रामसिंह एकाएक कसरी बेपत्ता भए ? नारुसँग छटपटिनुबाहेकको विकल्प थिएन ।
एकै पटक चार दिनपछि रामसिंहको पत्तो भयो । उनको खबर थियो– स्वास्थ्य चौकी नजिकैको काला वनको गोदा भिरमा शव । घरका एकमात्र मियो ढलेको खबर परिवारका लागि आफ्नै मृत्यु जस्तो थियो । नारुसँगै महेश्वरीको होस पनि थिरमा रहेन ।
परिवारले विश्वास नगरे पनि रामसिंहको देहान्त शाश्वत थियो । प्रहरीले मुचुल्का उठायो । महेश्वरीले बुवाको शव काँधमा राखेर घाटमा पुगिन् । बाबाको सम्झनामा महेश्वरीको आँशु राक्दै रोकिएनन्, महेश्वरीले भनिन्, ‘बुबाको पार्थिव शरिरसँगै मैले ओभरसियर बन्ने सपनालाई पनि दागबत्ती दिएको छु ।’
निम्न वर्गीय परिवारमा जन्मिए पनि सरकारी विद्यालयबाटै ७० प्रतिशत अङ्क ल्याएर एसएलसी उत्र्तीण गरेकी महेश्वरीले तमाम अभावको बाबजुद धनगढीबाट सब–ओभरसियर पास गरेकी थिइन् ।
ओभरसियर बन्ने उनको मात्र चाहना नभएर रामसिंहको पनि अन्तिम सपना थियो । ‘अब एक्ली भएकी छु, कलेज नगएको एक महिना भइसक्यो’, दुई महिनामात्रै कलेज टेक्न पाएकी महेश्वरीले थपिन्, ‘पढ्ने मन भएर के गर्नु ? कलेजको फी मैले कहाँबाट जुटाउनु ?’
रामसिंहको मृत्युको वियोग त छ नै, हरेक समय नारुको आँखामा आँसुका खत देखिन्छन् । अझ ठूलो–ठूलो आपत् आइलागेको छ परिवारको दैनिकी चलाउन । दैनिक चरम अभाव भोगिरहेका नारुको परिवारले महेश्वरी र उनका भाइबहिनीको पढाइ एकादेशको कथा हुन पुगेको छ । ‘बुबाले हामी सबैको भविष्य अन्धकार बनाएर जानुभयो’, महेश्वरी भन्छिन्, ‘कहाँ जाने, कसरी खाने, भाइबहिनीहरुलाई के गर्ने ? जीवनका सबै बाटा बन्द भए जस्तो लाग्छ ।’
रहस्यमय मृत्यु
रामसिंह विगत २५ वर्षदेखि शिवलिङ्ग स्वास्थ्य चौकीमा कार्यरत थिए । तर परिवारलाई नै अन्धकारको भुमरीमा पारेर अल्पायुमै उनको रहस्यमय मृत्यु हुन पुग्यो ।
नारु भन्छिन्, ‘मृत्यु कसरी भयो, अहिलेसम्म थाहा पाउन सकेका छैनौँ । कसैले मारेर फालेको जस्तो लाग्छ ।’ तर प्रहरीले पनि अहिलेसम्म परिवारलाई कुनै खबर दिएको छैन ।
शव भेटिएको ठाउँमा लडेको कुनै निसान नभएको पनि महेश्वरी बताउँछिन् । शव भेटिएको भन्दा माथि बाटो छेउमा चौथो दिनपछि मोबाइल भेटिएको थियो । महेश्वरीले भनिन्, ‘बहिनी त्यही बाटो भएर स्कुल जाँदा उसले त्यहाँ केही देखिनन् । एकाएक गलबन्दी र टोपी पनि देखियो । हामीले यो घटना शङ्कास्पद लागेको छ ।’
मृतक रामसिंहको शव पोस्टमार्टम गरिए पनि रिपोर्ट अझै आएको छैन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


