‘सरकारकाे नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ, देशलाई निकास दिनुपर्छ’

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर आफ्नाे पार्टीकाे नेतृत्वमा सरकार बनाउनुरहेको बताउनुभएको छ । 

शुक्रवार नेपाल शिक्षक सङ्घ वाग्मती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरूको मुख्य ध्येय रहेको बताउनुभएको हो । यसका लागि मधेशवादी दलसँग छलफल चलिरहेको पनि उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ । आज पनि मधेशी पार्टीसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनसाय हाम्रो छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिनुभयो । नेता थापाले कांग्रेसले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई चुनावमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ र नेपाली कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले हामीले सरकार बनाएर, हामीले छ/आठ महिना, एक वर्ष चलाएर जति पनि प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पार्नुभएको छ । ती भ्वाङ टाल्ने काम गरेर, देशलाई चुनावमा लिएर गएर त्यो चुनावबाट हामीले एक पटक फेरि नयाँ जनादेश प्राप्त गरेर पाँच वर्ष नेपाली कांग्रेसले नागरिकका बीचमा केही सङ्कल्प गरेर ती सङ्कल्प पूरा गर्ने काम हामीले गर्नुपर्छ ।’

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भए पनि सङ्कटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्याण्डेड सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने म्याण्डेड पाएको पार्टी नरहेको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकास दिनुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपाल कम्युनिस्ट पार्टीको नाममा जुन म्याण्डेड उहाँहरूले पाउनुभयो, त्यो माण्डेड अस्तिको सर्वोच्च अदालतको फैसला र त्यो फैसलालाई उहाँहरूले स्वीकार गरिसकेपछि सकियो । त्यसैले यो संसदमा सरकार चलाउने म्याण्डेड पाएको पार्टी छैन । हामीले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको हाे तर यो क्राइसिसको बेलामा अब हामीले सम्हाल्नुपर्ने छ । हामीले सम्हालेर यसलाई निकास दिने, निकास दिएर देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्ने ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइ राख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताउनुभयो ।  

TOP