सर्वोच्च अदालतकाे न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस

काठमाण्डाै – न्याय परिषद्को शुक्रवारकाे बैठकले सर्वोच्च अदालतकाे न्यायाधीशमा डाक्टर कुमार चुडाल र नहकुल सुवेदीकाे नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकाे अध्यक्षतामा बसेको परिषद् बैठकले उच्च अदालत पाटनमा कार्यरत डा. चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले उच्च अदालतकाे न्यायाधीशमा १८ जनाकाे नाम सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीकाे नाम सिफारिस गरिएको छ । नायब महान्यायाधिवक्ता पौडेललाई उच्च अदालत पाटन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटनबाट उच्च अदालत पोखराकाे न्यायाधीशमा सिफारिस गरिएको हो । 

न्याय सेवा राजपत्र प्रथम श्रेणीबाट रामेश्वर रेग्मी र ममता खनाललाई उच्च अदालतकाे न्यायाधीशमा सिफारिस गरिएको छ । बैठकले अधिवक्तातर्फबाट रसुवाका फुर्पा तामाङ, सिरहाकी श्रीधराकुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनमसिंह चन्द, काभ्रेपलाञ्चोकका सागर विष्ट, सिरहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम उच्च अदालतकाे न्यायाधीशमा सिफारिस गरेको छ ।

त्यस्तै जिल्ला न्यायाधीशमा जगत्नारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेलका नाम सिफारिस भएको छ । 

TOP