म्यानमार : प्रदर्शनकारीकाे ज्यान गएपछि आर्मी जनरलहरूकाे ‘भव्य पार्टी’

काठमाण्डाै – म्यानमारमा शनिवार ‘आर्म्ड फोर्सेज डे’ को अवसरमा सेनाको चेतावनीपछि सडकमा निस्किएका प्रदर्शनकारीमध्ये कम्तीमा ९१ जनाको गोली लागेर ज्यान गएपछि सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा ‘भव्य पार्टी’ गरेको बीबीसीले जनाएको छ । 

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतवार बिहान मृतकको अन्तिम संस्कारका क्रममा पनि सेनाले हस्तक्षेप गर्ने कोसिस गरेको थियो । 

शनिवार भएको सेनाको दमनपछि पनि आइतवार विरोध प्रदर्शनको सिलसिला रोकिएको छैन । 

म्यानमारमा गएको फेब्रुअरी १ मा सैन्य कू पछि शनिवार २७ मार्च प्रदर्शनकारीका लागि सबैभन्दा धेरै हिंसक दिन साबित भयो । गएको फेब्रुअरीदेखि भएको प्रदर्शनका क्रममा अहिलेसम्म चार सयभन्दा धेरैको ज्यान गइसकेको छ । 

आइतवार कैयौँ देशका रक्षा प्रमुखहरुले एक संयुक्त विज्ञप्ति नै निकालेर म्यानमारको हिंसक सैन्य कारबाहीको भर्त्सना गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि व्यावसायिक सेना आचरणको सन्दर्भमा अन्तर्राष्ट्रिय मानकको पालना गर्छ र आफ्ना देशको नागरिकको रक्षा गर्नु उसको जिम्मेवारी हुन्छ ।’

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफू स्तब्ध भएको बताउनुभएको छ । बेलायतका विदेशमन्त्री डोमिनेक रावले यसलाई ‘गिरावटको नयाँ स्तर’ भएको बताउनुभएको छ । 

संयुक्त राष्ट्र सङ्घका विशेष दूत टम एन्ड्रुसले म्यानमारमा भइरहेको हिंसालाई मध्यनजर गरेर एक अन्तर्राष्ट्रिय आपत्काल सम्मेलन बोलाउन माग गर्नुभएको छ ।

TOP