लकडाउनले जान मिलेन विदेश, अनि सुरु भयो गाउँमै बंगुर पालन
म्याग्दी – रहर थियो, विदेश जाने, टन्नै कमाउने अनि नेपाल फर्किने । तर त्यो रहर पूरा भएन । भन्छन् नि एउटा बाटो बन्द भए अर्को बाटो खुल्छ । विदेश जाने तयारी गरेर काठमाण्डौ गएलगत्तै कोरोना महामारीका कारण लकडाउन भयो । म्यानपावर धाउने काम रोकियो । दिमागमा नयाँ उपाय सुल्झ्यो, ‘के छ र विदेशमा ? गाउँमै फर्केर बंगुर पाल्छु ।’
विदेश जान भनि काठमाण्डौ जानुभएका म्याग्दीका बबिन किसान अहिले गाउँमै बंगुर पालनमा रमाइरहनुभएको छ ।
उहाँको आफ्नै घरमुनि बंगुरको खोर छ । खोरभित्र छन् साना र ठूला बंगुर । तिनै बंगुरका पाठाहरुसँग रमाउँदै दिन बित्छन् बबिनका । म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जाका २३ वर्षीय युवा बबिन निक्कै मेहनती हुनुहुन्छ । उहाँ युवा जोस र जाँगरका साथ बंगुरपालन व्यवसायमा कम्मर कसेर लाग्नुभएको छ ।
उहाँ साउदी, दुबई, मलेसिया र कतार जानका लागि मेडिकल गरेर उत्तिर्ण पनि हुनुभयो । तर भिसा लागेन । तर पनि विदेशी जाने भूतले उहाँलाई काठमाण्डौसम्म लिएर गयो । काठमाण्डौमा विदेश पठाउने दलालसँग भेट्नुभयो । म्यानपावर धाउनुभयो । तर जति प्रयास गरे पनि आफ्नो विदेशको यात्रा सम्भव नभएको उहाँ बताउनुहुन्छ ।
‘विदेश जाने प्रयासमा दुईलाख रुपैयाँ ऋण लाग्यो तर सफल हुन सकेन’, बबिनले दु्ःखेसो पोख्नुभयो ।
धेरै धन कमाउने आशा बोकेर दैनिक सयौं नेपाली युवा परदेश लाग्छन् । लकडाउन नहुँदो हो त बबिन पनि सायद परदेशकै बाटो लागिसक्नुभएको हुन्थ्यो होला । तर लकडाउनले आफ्नो जीवनको यात्रा मोडिदिएको उहाँको भनाइ छ ।
‘पटकपटकको विदेश जाने सपना पूरा भएन’, उहाँ भन्नुहुन्छ, ‘त्यसपछि आफ्नै गाउँठाउँमा गरे कसो नहोला भन्ने लागेर बंगुर पालन थालेको छु ।’
विदेशको रहर पूरा नभएपछि गाउँमै गरेर देखाउँछु भन्ने आत्मबलका साथ उहाँ उद्यमीको लहरमा मिसिनुभएको छ । बंगुरको हेरचाहमै बित्छन् दिन । खाली समय घरपरिवारलाई दिनुहुन्छ । व्यवसाय कसरी बढाउने भन्ने बारेमा सोच्नुहुन्छ ।
बबिन कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सुरु गरेको फर्ममा अहिले माउ र साना गरी कुल १५ वटा बंगुर छन् । गएको वर्ष असोज महिनाबाट दुईलाख रुपैयाँ लगानी गरी सुरुमा पाँच वटा बंगुरबाट व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । कक्षा १२ सम्म अध्ययन गर्नुभएका बबिनले बंंगुरपालन व्यवसायलाई थप अगाडि बढाउन अहिलेसम्म सात लाख रुपैयाँ लगानी गरिसक्नुभएको छ ।
बंगुरलाई उहाँले दैनिकजसो सिस्नो, पिँडालु, जाँड, आटो, कनिका, धानको ढुटो र खेर गएको खानालाई दानाको रुपमा खुवाउनुहुन्छ । बंगुर पालनमा घरपरिवारको पनि सहयोग छ । घरमा आमा, भाइबहिनीले काममा हात बढाउनुहुन्छ । सुरुमा बाख्रापालन गर्ने योजना थियो उहाँको । त्यही अनुसार केही बाख्रा किनेर पाल्नु पनि भयो । तर बाख्रा हुर्कन समय लाग्ने र धेरै घाँसपात खुवाउनुपर्ने झन्झटले गर्दा बाख्रा बिक्री गरेर बंगुरपालनतर्फ लागेको उहाँको भनाइ छ ।
पछिल्लो समय बजारमा बंगुरको माग उच्च रहेकाले पनि आफू यसतर्फ आकर्षित भएको बबिन बताउनुहुन्छ । विदेश जाने सपना पूरा नभए पनि विदेश जानुको उद्येश्य गाउँमै बसेर पनि पूरा गर्न सकिन्छ । बबिनलाई पनि यस्तै लाग्याे ।
‘आखिर विदेशमा पनि पैसा कमाउन जाने हो, त्यो पैसा नेपालमै कमाउन सके विदेश किन जाने ?’ बबिन भन्नहुन्छ, ‘विदेशमा पनि मेहेनत गर्नुपर्यो, त्यसै पैसा फल्दैन। विदेशमा गएर सातआठ घण्टा खट्नुभन्दा आफ्नै देशमा चार/पाँच घण्टा खटे हुन्छ ।’
अर्काको देशमा गएर गुलामी गर्नुभन्दा आफ्नै गाउँमा काम गर्दा आत्मसन्तुष्टि पनि मिल्ने उहाँको भनाइ छ । तर नेपालमा व्यवसाय सञ्चालन गर्दा आर्थिक समस्याले भने पिरोल्ने गरेको उहाँ दुःखेसाे पोख्नुहुन्छ ।
बबिन भन्नुहन्छ, ‘सहुलियत ऋण तथा सरकारी अनुदान पाएमा बंगुरपालन व्यवसायलाई बढाउन सहज हुने थियाे ।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


