दु:ख कष्ट नमानी सेवामा तल्लीन छन अनमी कोइराला

सुर्खेत । सुर्खेतको चिङगाड गाँउपालिकाको पाम्का स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा कोइरालाको बीरेन्द्रनगरमा जन्म भयो। अनमी पढेपछि उनको कर्म स्वास्थ क्षेत्र बन्यो सुर्खेत। सुर्खेतका विभिन्न अस्पतालमा उनले काम सुरु गरेको १७ वर्ष भयो। प्रदेश अस्पताल, हुदै धेरै अस्पताल तथा स्वास्थ्य चौकीमा काम उनले काम गरिन् ।

यो अवधिमा प्रतिमाले कैयौ मानिसको ज्यान जोगाईनन्, हजारौ कुपोषित बालबालिकाको उपचार पनि गरिन। लामो समयसम्म पोषण पुर्नस्थापन गृहमा कामगर्दा आफुले उपचार गरेका धेरै बालबालिका कुपोषण मुक्त भई घर फर्केको प्रतिभाको भनाई छ। प्रतिमा सुर्खेतकै ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा कार्यरत रहदाँ गाउँमा उनी सबैको प्रिय डाक्टर बनिन्।

सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई प्रतिमाले सरकारी स्वास्थ्य संस्थाबाट निजीको भन्दा प्रभावकारी रुपमा काम गरेको उदाहरण प्रस्तुत गरेकी छन् ।

अरुबेला जसोतसो जनताको सेवा गरेपनि समस्या भनेकै बर्षायाम आउने गर्दछ। विकट वस्ती, अनि हिलाम्य सडक, २/३ घन्टाको पैदल यात्रा, बाटो अबरुद्ध होस, वा जोखिम नै किन नहोस, नागरिकको स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएर उनी सधै काममा खटिरहन्छिन्।

कोभिड महामारी होस, या झाडापखाला वा अन्य कुनै संक्रमण जे जस्तो भएपनि प्रतिभा आफ्नो ज्यानलाई जोखिममा राखेर नागरिकको स्वास्थ्यमा सधै अग्रपंक्तिमा खटिरहन्छिन्।

प्रतिमा भन्छिन्,  ‘सबै भन्दा खुशी त्यतिबेला लाग्छ, जब आफुले उपचार गरेको विरामी सन्चो भएर घर फर्कन्छ।’ बर्षाको झरीलाइ प्रवाह नगरी नागरिकलाई खोप दिन २ घन्टासम्म हिडेरै सेवा दिएको उनको अनुभव छ। जस्तोसुकै प्राकृतिक विपदी वा जैविक विपदिमा पनि आफुले ज्यानको ख्यालै नगरी सेवा गरेको बताउछिन प्रतिमा। उनी भन्छिन्, ‘आफ्नो धर्म भनेकै जनताको सेवा गर्नु हो ।’

जब महिनामा एक दुईपटक गाँउगाँउमा पुगेर बालबालिकालाई विभिन्न प्रकारका खोप लगाउनु पर्छ, तब प्रतिमालाई उत्साह जाग्छ। प्रतिमा भन्छिन्, ‘बालबालिकालाई सेवा गर्न पाउदाँ आफ्ना सबै दुःख पीडा विर्सन्छु।’

सेवा दिनपाउदा बाबा आमाको सपना पुरा गरेको प्रतिभा बताउँछिन्। उनी आफुले गरेको काम प्रति गर्भ लागेको र आफ्नो कामबाट पूर्ण सन्तुष्ट रहेको बताउँछिन्।

एउटी महिला भएर घरपरिवार बालबच्चा अनि परिवारको पीडालाई पन्छाएर स्वास्थ्य सेवामा जिम्मेवारी पूर्वक काम गर्न पाउदा खुसी हुनु स्वाभाविक हो। तर यसरी काम गर्दा पनि सरकारको ग्रामिण क्षेत्रमा काम गर्ने स्वास्थ्कर्मीलाई हेर्ने दृष्टिकोण फरक भएको महसुस छ प्रतिमालाई।

विकट सबै वडाहरुमा यातायातको पहँच नपुग्नु, विद्युत सेवा अझै नहुनु, जोखिम भत्ता नपाउनु लगायतका अनेकौ समस्याले स्वास्थ्कर्मीको मनोबल उच्च हुनुको सट्टा कमजोर बन्ने गरेको छ।

यी र यस्ता विभिन्न चुनौतीलाई पन्छाउदै आफुले दुर्गम गाउँ वस्तीमा पुगेर कुपोषित, अशिक्षित, गरिव बालबबालिका र अन्य नागरिकको जिवनको निम्ती काम गर्न पाएकोमा आफुभित्र खुशीको अनुभुति हुने गरेको उनको अनुभव छ

यसरी आफुले काम गरिरहदाँ ग्रामिण क्षेत्रका महिला र बालबालिकाको जिवन बुझ्ने मौका मिल्यो, उनीहरुसंग दुःख सुख साट्ने अवसर पाईयो भन्छिन् प्रतिमा।

यो हेर्दा र देख्दा लाग्छ साच्ची नै गाँउको जीवन शहर भन्दा फरक छ। शहरका नागरिकले पाउने स्वास्थ्य सेवा भन्दा गाँउका नागरिकले पाउने सेवा निकै न्यूनस्तरको छ।

यसरी काम गरिरहदाँ पनि कतिपय ठाँउमा स्वास्थ्यकर्मीमाथी हुने दुर्ब्यबहारका घटनाले रुन मन लाग्छ भन्छिन् प्रतिमा । स्वास्थ्यकर्मीले जोखिम मोलेर,भोक, निन्द्रा, परिवार केही नभनी निरन्तर काममा खटिनै रहे पनि सरकारको नजरमा भने अझै आफुहरु उपेक्षामा परेको उनको भनाई छ।

‘फ्रन्टलाइनर स्वास्थ्यकर्मीको अथक प्रयासले कोरोना महामारीको पहिलो र दोस्रो चरण लगभग पार गर्न सक्षम भएका छौ। आफुले बलबुद्धि र विवेकले भ्याएसम्म कोसिस गर्यौं, हाम्रो इमान्दारीता र हामिले गर्नु पर्ने धर्म निभायौँ,’ प्रतिमाको भनाइ छ।

तर सरकारले स्वास्थ्यकर्मीका लागि यो गर्छौ, त्यो गर्छौ भनेर जतिसुकै भाषण दिएपनि आफुहरुका लागी भने त्यो भाषणमै सिमित रहेको प्रतिमा बताउँछिन्।

प्रतिमा भन्छिन्, ‘काम भने मरीमरी गर्नु पर्ने अनि पैसा पनि नपाउने, जस पनि नपाउने। कसैले हाम्रो कामको मुल्यांकन पनि नगरिदिने। प्रतिमा गुनासो गर्छिन। सरकारले यो समयमा प्रोत्साहन मात्र गरिदिए पनि स्वास्थ्यकर्मी दिलोज्यान दिएर खटिन तयार छन्।’

(साभार लेखाजाेखा)

TOP