विराटनगरको बालसुधार गृहबाट चार जना बालविज्याइँकर्ता फरार

विराटनगर / विराटनगरको बालसुधार गृहबाट फरार भएका चार जना बालविज्याइँकर्तामध्ये एक जना पक्राउ परेका छन् । फरार रहेका तीन जना अझैसम्म सम्पर्कविहीन छन् । शनिबार बिहानका राति गृहको तीन तलामाथिबाट हामफालेर एकैपटक १९ वर्षसम्मका चार जना फरार बनेका थिए । भागेकामध्ये एक जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सके पनि अरु तीन जना अझैसम्म फरार रहेको गृहका प्रमुख मिलन चौहानले जानकारी दिए । उनका अनुसार भाग्दाभाग्दै पक्राउ परेका बालक झापाका हुन् । उनलाई जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

फरार भएर फेला नपरेका तीन जना सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएकाहरु हुन् । उनीहरु सम्पर्कविहीन रहेका कारण खोजी जारी राखिएको चौहानले बताए । उनका अनुसार बिहानका राति २:५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भाग्दै गरेको देखियो ।
फरार हुँदै गर्दा प्रहरीले एक जनालाई पक्राउ गर्न सके पनि अरु तीन जना उम्कन सफल भएर सम्पर्कविहीन बनेका हुन् । भागेकामध्ये दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका अभियुक्त हुन् । अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

पाँच वर्ष कैद सुनाइएका बालविज्याइँकर्ता सजाय भुक्तान गरिसकेर २०७९ सालमा छुट्दै थिए । फरार भएकामध्ये एक जनालाई भने विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि सुधारगृहमा ल्याएर राखिएको थियो । प्रहरीको सहयोगमा भागेका तीनै जनाको खोजी तीव्र पारिएको चौहानको भनाइ छ । गृहबाट हामफालेर भागेका सबै जनालाई दोस्रो भेरियन्टपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले उपचारका लागि आइसोलेसन भर्ना गरिएको थियो ।

बालविज्याइँकर्तालाई राखिँदै आएको विराटनगरस्थित बालसुधार गृह ।

उपचार गराएर कोरोनामुक्त हुँदै केही दिनअघि फर्किएका उनीहरुलाई स्वास्थ्य सुरक्षाका दृष्टिकोणले बालसुधार गृहको छुट्टै हलमा राखिएको थियो । हलमा सङ्क्रमणमुक्त भएका २२ जनालाई राखिएको थियो । तीमध्ये चार जना भने फरार बनेका हुन् । ‘भाग्ने उदेश्यले बालसुधार गृहको तीन तलामाथिबाट हामफालेका चार जना गृहको कम्पाउण्डभन्दा पारिपट्टी पुगेछन् । उनीहरुबीच आपसी सल्लाह गरेर नै फरार हुने योजना बनेको पाइएको छ,’ गृहका प्रमुख चौहानले भने, ‘भाग्दाभाग्दै गरेको देखेपछि होहल्ला गरेर एक जनालाई तत्कालै पक्राउ गर्न सकियो । अरु तीन जना अझैसम्म भेटिएका छैनन् ।’
चौहानले कोरोनामुक्त भएपछि तत्काललाई छुट्टै हलमा राखिएको अवस्थामा गृहको कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालविज्याइँकर्ता भागेको बताए । यस घटनामा सुधारगृह र प्रहरी कसैको पनि कमजोरी नरहेको उनको भनाइ छ ।
बालसुधार गृहबाट बालविज्याइँकर्ता फरार भएको घटनाको मोरङ प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । भागेकाको खोजी तीव्र बनाएर गृहको सुरक्षामा खटिएका प्रहरीसँग घटनाका बारेमा आवश्यक सोधपुछ गर्दै अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए । मुकारुङका अनुसार गृहबाट उनीहरु कसरी भाग्न सफल भए र यसमा कसको कमजोरी छ भन्ने बारेमा पनि अनुसन्धान केन्द्रित गरिएको छ । गृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (असइ) मानबहादुर बस्नेतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालित थियो ।

प्रदेश १ मा बालविज्याइँ र कानुनी द्धन्द्धमा मुछिएका बालकहरुलाई राख्नका लागि विराटनगरमा ५० जना क्षमताको बालसुधार गृह छ । तर अहिले गृहमा झण्डै चार गुणा बढी अर्थात एक सय ९५ जनालाई राखिएको छ । बालसुधार गृहको भौतिक संरचनाको अवस्था एकदमनै दयनीय र कमजोर रहेको गृहका प्रमुख चौहानले बताए । भौतिक संरचना अभाव र विभिन्न समस्याकाबीचमै ५० जना क्षमताको गृहमा एक सय ९५ जनालाई राख्नु परिरहेको उनको भनाइ छ । संरचनाकै समस्याका कारण बालविज्याइँकर्तालाई राख्न ठूलो चुनौती रहेको उनले बताए ।

चौहानका अनुसार नौवटा कोठा र एउटा हल रहेको गृहमा एउटा कोठाभित्र २५ जनासम्मलाई राख्नु परिरहेको छ । विभिन्न अपराधिक घटनामा संलग्न भएर कानुनी द्धन्द्धमा मुछिएकामध्ये अदालतबाट पूर्पक्षका लागि थुनामा राख्न आदेश भएका र मुद्दामा कैद सजायको फैसला गरिएका बालकहरुलाई बालसुधार गृहमा राख्ने गरिएको छ ।

TOP