चितवन : पूर्व-पश्चिम राजमार्गकाे अवराेध खुला

चितवन – राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्व-पश्चिम राजमार्गको अवरोध खुला भएको छ । जिल्लाको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए । 

बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे खुलेको हो । स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको छ ।

शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडाभन्दा कडा कारबाही गर्ने, पोस्टमार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको बरालले जानकारी दिनुभयो । 

आइतवार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन् । बिहान ६ः०० बजे घरबाट हिँडेकी भण्डारी त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले त्यही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
 
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

TOP