सरुवाका लागि अनलाइनबाट एक हजार ४३१ काे निवेदन, २५३ जनाको रोजेकै कार्यालयमा सरुवा

गत मङ्सिरदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ। मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएकामध्ये २५३ जनाको रोजेकै कार्यालयमा सरुवा भइसकेकाे छ।

‘अहिले दुर्गम क्षेत्रका कर्मचारी सरुवा निवेदन बोकेर मन्त्रालयसम्म पुगिरहनु पर्दैन”, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भने, ‘अहिले जता छ त्यहीँ बसेर रोजेकै कार्यालयमा सरुवा हुन्छ । मन्त्रालयका कर्मचारीले पनि अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा समय खर्चनु नपर्ने भएको छ।’

मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवा प्रणाली सुरु गरेपछि कर्मचारीलाई समय र पैसाको बचत भई कर्मचारीलाई मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य भएको छ । दुर्गम क्षेत्रका कर्मचारी सरुवाकै लागि भनेर काठमाडौंँ आएर होटलमा बस्ने खर्च एकातिर कम भएको छ भने भनसुनका लागि हुने दौडधुप र लाग्ने समयको बचतले सेवा प्रवाह प्रभावकारी भएको पोखरेलले बताए।

‘अनलाइनबाट निवेदन दिँदा मन्त्रालयमा भीडभाड कम भएको, कसैको भनसुन नचल्ने तर सरुवा गर्नैपर्ने व्यक्तिको सजिलै सरुवा हुने गरेको छ,’ पोखरेलले भने, ‘मन्त्रालय सधैँ सरुवा प्रणालीमै अल्झिनु पर्दैन । मन्त्रालयको इमेलमा आएको निवेदनलाई महिनाको २५ देखि ३० गतेभित्र सरुवाको काम गरे पुग्ने भएको छ।’ पहिला एक महिना नै सरुवा प्रणालीमा खटिनुपर्ने तर अहिले महिनाको पाँच दिन मात्र सो काम गर्दा पर्याप्त हुने मन्त्रालयले जनाएको छ। गाेरखापत्रबाट

TOP