श्रमजीवी पत्रकारको सेवा सुविधा उपलब्ध गराउन प्रेस काउन्सिलकाे आग्रह

प्रेस काउन्सिलले नागरिक दैनिकमा कार्यरत तीन दर्जनभन्दा बढी श्रमजीवी पत्रकारको सेवा सुविधा उपलब्ध नगराएकोबारे सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

काउन्सिलको श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको हालै बसेको बैठकको नागरिक दैनिकमा कार्यरत पत्रकारको सेवा सुविधा उपलब्ध नगराएको र सेवाबाट निष्कासन गर्न खोजेकोप्रति गम्भीर बन्न सबै पक्षको ध्यानाकर्षण गराएको जानकारी दिएको छ ।

काउन्सिलले नागरिकमा कार्यरत पत्रकारहरूले व्यवस्थापनले गरेको व्यवहारप्रति असहमति जनाउँदै गरेको आन्दोलन र त्यसपछि भएको दुईपक्षीय समझदारी कार्यान्वयनमा जोड दिँदै अनुगमन गर्ने पनि बताएको छ ।यस्तै, कोरोना संक्रमणको बहानामा पत्रकारको पारिश्रमिक रोक्ने तथा सेवाबाट हटाउने कार्य नगर्न काउन्सिलले सचेत समेत गराएको छ ।

‘कोरोना सङ्क्रमणले सबै क्षेत्र प्रभावित बनेको अवस्थामा श्रमजीवी पत्रकारले आफ्नो जीवनको प्रवाह नगरी काम गरेको सर्वविदितै छ । यस्तो अवस्थामा यो वा त्यो बहानामा कुनै पनि सञ्चार गृहबाट श्रमजीवी पत्रकारको सेवा सुविधा रोक्ने र सेवाबाट निष्कासन गर्ने कार्य नियम, कानुन विपरीत भएको हुँदा यस्तो कार्य नगर्न नगराउन काउन्सिल आग्रह गर्दछ’, काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले देशभरका सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारको अवस्थाबारे अध्ययन गर्ने पनि जनाएको छ ।

TOP