एमाले प्रचार विभागबाट वरिष्ठहरुलfई किन हटाइयो ?

एमालेको हालैको निर्णयबाट विभिन्न विभागमा नयाँ सदस्य थपिएको छ । त्यसमध्ये प्रचार विभागलाई चार जना सदस्य थपेर १९ सदस्यीय बनाइएको छ । प्रदीप ज्ञवाली प्रमुख रहेको उक्त विभागमा महासचिव ईश्वर पोखरेलले जबर्जस्ती चार जनाको नाम थप्दा पुराना सदस्यहरु छुटेपछि थापाथलीमा बबाल मच्चिएको छ ।

हालै थपिएका चार जनामा यशोदा तिमिल्सिना,राजु लामा,गणेश पाण्डे र मधु शाही हुन् । आफू ४५ दिनकाे उपप्रधानमन्त्री छँदा क्याबिनेट निर्णयबाट बिशिष्ट श्रेणीको प्रेस बिज्ञ बनाइएका पाण्डेको हकमा महासचिव ईश्वर पोखरेलले उपप्रमुख सूर्य थापालाई विभागमा समावेश जसरी पनि नाम हाल्न निर्देशन दिनुभएको बताइन्छ ।

राजा ज्ञानेन्द्रलाई ०६१/६२ मा मिडिया क्षेत्रबाट दह्रो साथ दिएका पाण्डेलाई आफू अध्यक्ष रहेको बिभुषण समितिबाट निर्णय गराई पोख्रेलले राष्ट्रपतिको हातबाट वितरण हुने पदकसमेत दिलाउनु भएको थियो ।

यति कमलो मन देखाउने पोख्रेलले दु:खमा साथ दिएका पत्रकार लोकेन्द्र केसीलाई भने कुनै भाउ दिनुभएन । जबकि योग्यताको हिसाबले उनी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकमा खुल्ला प्रतिस्पर्धाबाट पास भएका काबिल उम्मेदवार हुन् । पोख्रेल रक्षामन्त्री रहुन्जेल यिनै पत्रकार लोकेन्द्र केसीलाई कुनै औपचारिक दर्जा दिइएको थिएन । केसी अहिले धरानस्थित क्याम्पसमा पदस्थापन भएका छन् । उनलाई पनि विभागको थप सदस्य बन्नबाट छुटाइएको छ ।

पोखरेलकै सिफारिसमा विदेश विभागको सदस्यमा दिपेन्द्र श्रेष्ठलाई राखिएको छ । युवासंघ सचिवालयस्थित एक उच्च स्रोतका अनुसार पाण्डेलाई उक्त जिम्मेवारी दिँदा प्रेस चौतारी नेपालका अधिकांश धुवाँ भएका छन् । चौतारीका सात जना उपाध्यक्षमध्ये केपी ओलीतिर ज्यान दिएर हिंडेकाहरु हालैको निर्णयबाट भरङ्ग भएका छन् ।

लामो समयसम्म एउटै विभागमा बसेकाहरुले अरु नै फोरममा जानुपर्ने भन्ने आवाज उठेको छ । १६ देखि २५ वर्षसम्म प्रचार विभागमा बसेका कतिपयलाई पुनः त्यहिँ जिम्मेवारी दिनु अशोभनीय हुने नेतृत्वको ठम्याई रहेको बुझिएको छ ।

प्रचार विभागको सदस्यमा नियुक्ती हुने सबैले आशा गरेका अन्यमा पोखराका पुण्य पौडेल,पर्वतका दुर्गा शर्मा,विराटनगरका यज्ञ शर्मा, कैलालीका हेमन्त पौडेल, नेपालगञ्जका डिल्ली बिसी छन् । वरिष्ठहरुमध्ये डा.कुन्दन अर्याल र महेन्द्र बिष्टको नाम पनि छुटाइएको छ ।

यसअघिको बिभागमा माधव विद्रोही,शीतल साह,माधव नेपाल, रामकृष्ण ज्ञवाली,डीआर घिमिरे, सूर्यमणि गौतम र माओवादीबाट रोशन खड्का अनि उजिर मगर (ईन्द्रमान बुढा) थपिएका छन्, राजेन्द्र अर्याल,गगन बिष्ट,गणेश बस्नेत,निर्मला शर्मा र प्रमोद दाहालको नाम पनि नयाँ पुराना गरेर राखिएको छ ।

आफ्नो टिमका सबैलाई अवसर दिनैपर्ने अध्यक्ष केपी शर्मा ओलीको रोडम्यापमा अझै पनि केही मान्छे छुटेको बताइन्छ ।

TOP