एमाले जहाँ जीत्छ, त्यहाँ विकास हुन्छः ओली


घनश्याम भर, कपिलवस्तु ।
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले जहाँ जीत्छ त्यहाँ अवश्य विकास हुने बताएका छन् । उनले आफु प्रधानमन्त्री भएका बेला राजमार्गदेखि भारतका सिमा जोड्ने सडकहरु फोरलेन बनेको र सीमा नाकाबन्दीका बेला पनि भारतसँग नझुँकी सही कदम चालेको बताए ।

अहिलेको सरकारले विकासको कुनै काम गर्न नसकेको भन्दै एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाउने जेष्ठ नागरिकहरुलाई उपचार, भुमिहीन गरिबहरुलाई सरकारले घर बनाउने फुसका छाना विस्तापित गर्ने कार्य भएको बताए । एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको उनले बताए । कपिलवस्तुको बहादुरगञ्जमा नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्देै एमालेका पार्टी अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले जनता आवास कार्यलाई निरञ्तरता दिई फुसको छानो मुक्त गाउँ विकास स्थानीय तह एवम् पालिकालाई अनुरोधसमेत गरे । कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्नेसमेत उनले दाबी गरे । उनले कपिलवस्तुमा जस्तो फराकिलो जग्गा अन्य क्षेत्रमा नभएको जिकिर गर्दै किसानहरु प्रविधियुक्त कृषि प्रणालीमा जोड दिन आवश्यक रहेको बताए ।

उनले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताए । “यता नेपाल तर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुदैन” उनले भने । कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने बताउँदैे एमालेसँग मात्र देश बनाउने नीति भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोख्रेलले केपी ओली सरकार भएको समयमा विकासको लहर चलेको बताए । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्रीसमेत रहेका पोख्रेलले अब कपिलवस्तुमा विकासको लहर चल्ने जिकिर गरे । “हामी जनताबाट डराएका छैनौँ, हामी चुनाव चहान्छौँ देउवा सरकार चुनावबाट डराएको छ” उनले भने ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता एमालेमा प्रवेश गर्नु भएको छ । मंगल प्रसाद गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । बहादुरगञ्जको आमसभालाई सम्बोधन गर्दै आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको मगंल प्रसाद गुप्ताले बताए ।

एमाले प्रवेश गरेपछि अब आफ्नो क्षेत्रलाई एमालेमय बनाउने उनले बताए । अन्य पार्टी परित्याग गरि करिब ६ हजार बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले जानकारी दिए ।

TOP