किडार्क नेपालको वार्षिक समीक्षा,आत्मनिर्भरमा जोड

माधव बेल्वासे,कपिलवस्तु-किडार्क नेपाल कपिलवस्तुको वार्षिक समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार होटल केलियोमा भएको कार्यक्रममा बोल्दै शिवराज नगरप्रमुख नेत्रराज अधिकारीले केही वर्ष यता नगरमा काम गरिरहेको संस्थाले नागरिकहरूलाई आत्मनिर्भर बनाउने प्रयास सकारात्मक रहेको बताउनुभयो ।कृषि,शिक्षा,स्वास्थ्य लगायत विषयलाई जोड दिएर किशोर किशोरीलाई सबल र सक्षम बनाउनुपर्नेमा जोड दिनुुुभयो ।

कोरोना जटिल परिस्थितिमा पनि कमजोर स्थिति रहेका नगरवासीलाई सहयोग गरेकामा धन्यवाद दिनुभयो । संस्थाले गर्ने हरेक क्रियाकलाप नगर तथा वडा सँग सहकार्य गरी गर्न आग्रह गर्नुभयो । बालविवाह,बालश्रम,लागु औषध जस्ता विकृतिले समाजमा असहज सिर्जना भएकोले किशोर किशोरीहरूलाई जागरूक गराई काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख शिवकुमारी थारुले किडार्क नेपालले महिलाहरूलाई जोड दिँदै प्रत्येक वर्ष सिपमूलक तालिम प्रदान गरी सक्षम बनाउने योजनामा नगरको साथ रहेको बताउनुभयो । गत वर्ष विभिन्न गाउँमा तालिमहरू दिएर महिलाहरूलाई आयआर्जनको बाटो देखाएको प्रति धन्यवाद दिनुभयो ।

संस्थाका जिल्ला कार्यक्रम संयोजक कृष्ण रावलले संस्थाले समाजमा गरेका काम बारे प्रकाश पार्नुभएको थियो । कोरोना पश्चात् कतिपय रोजगार विहीन भएकाहरूलाई आर्थिक सहयोग गरी उनीहरूलाई पेसामा आबद्ध गराएको बताउनुभयो । संस्थाले ४३ वटा स्वावलम्बन समूह,७ वटा टोल विकास संस्था,५ वटा आशा सञ्जाल,४३ वटा संवाद केन्द्र लगायत अन्य समूह वाट काम गरिरहेकाको छ ।

रावलले नगरका १८ सय किशोर किशोरीहरू आबद्ध रहेको र उनीहरूले नै समाज सुधारको नेतृत्व गर्ने बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधी संचारकर्मी लगाएतको सहभागितारहेको थियो ।

TOP