जनप्रतिनिधिलाई तिमिल्सिनाकाे सुझाव : जागिर खान मात्रै हाे भने किन दाेहाेरिने ?

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पूरा हुने, नहुने विचार गर्न आग्रह गर्नुभएको छ । 

आज आइतवार गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आयोजना गरेको गाउँ सभा/नगर सभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियासम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरूले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताउनुभयो । पदमा दोहोरिने भन्दा पनि आउँदा दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो । जनप्रतिनिधिले किन र केका लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने उहाँकाे भनाइ छ । 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयाे, ‘‘राजनीति गर्ने मान्छे म यो जिम्मेवारीमा जान चाहन्छु भन्ने हुन्छ । कर्मचारी पनि माथिल्लो जिम्मेवारीमा जान चाहन्छु या कुनै क्षेत्रमा जान चाहने एउटा कुरा हो । चाहना हुन्छ जागिर खाएर केही गरौँ भन्ने । तर त्यो सँगसँगै त्यतिमात्रैमा सीमित रहेर यो देशको आवश्यकता, आम नागरिकको आवश्यकता पूरा हुँदैन कि ? मेरो विनम्र अनुरोध छ, यहाँहरू दोहोरिन चाहनुहुन्छ, केका लागि ? एक पटक मैले अहिले अनुभव गरेँ । तर मैले गर्ने काम बाँकी रहे । म यो समाजलाई, मेरो पालिकालाई यस्तो बनाउँछु भन्छु अठोट गर्ने कि नगर्ने ? नत्र के अर्थ हुन्छ दोहोरिएर ?’

अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजीवनमा परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुभयो । आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरूको जीवनस्तर उकास्नका लागि नेताहरूले ध्यान दिनुपर्ने उहाँकाे भनाइ छ ।  अध्यक्ष तिमिल्सिनाले जनताले पनि चुनावका बेला बेठिक मानिसलाई नचुनी विवेक पुर्‍याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले राजनीतिक पार्टीहरूले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मूल्याङ्कन गरेर त्यसकाे आधारमा टिकट दिनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले स्थानीय तहले केन्द्रले दिने बजेटको मात्रै आश नगरि स्थानीय स्रोत परिचालनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

TOP