गठबन्धनबीच स्थानीय तहकाे सीट बाँडफाँडप्रति माधव नेपालकाे असन्तुष्टि
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सीट बाँडफाँडप्रति असन्तुष्टि जनाउनु भएको छ ।
अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भए पनि त्यही अनुसार जिल्ला तहको सीट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचनको सीट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पार्नुभयो ।
महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सीट बाँडफाँडले आफूहरु उत्साही भए पनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।
‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहबर्द्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिपाेर्टहरु सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन’ उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरि हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । त्यसैगरी हामीले भनेका थियौँ–नेकपा (माओवादी केन्द्र)ले जितेको ठाउँमा त्यही पार्टी ।
नेपाली कांग्रेसले जितेको ठाउँमा काग्रेस, जनता समाजवादीले जितको ठाउँमा त्यही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप लगाउनुभयो । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिँएको उल्लेख गर्दै उहाँले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिनु भयो । अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गर्नु भयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam