सशस्त्रका पूर्वडीआईजी रन्जन कोइरालाको जन्मकैद घटाउने फैसला उल्टियो

काठमाडौं : सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रन्जन कोइरालाविरुद्धको जन्मकैद घटाउने फैसला सर्वोच्च अदालतले उल्ट्याएको छ। बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीशद्वय टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघिकै जिल्ला र उच्च अदालतको सर्वस्वसहित जन्मकैदको फैसलालाई निरन्तरता दिने निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जन्मकैदको सजायलाई ८ वर्ष ६ महिनामा घटाउने राय बदर भएको बताए। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैदको सजाय भोगिरहेका पूर्वडीआईजी कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिनामा झारेको थियो। यो अवधि भुक्तान गरेकाले दुई वर्ष २०७७ साउन ७ गते कोइराला रिहा भएका थिए।

सशस्त्र प्रहरी बलको डीआईजी रहँदा आफ्नी श्रीमती गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले कोइरालालाई सर्वोस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

TOP