लुम्बिनी प्रदेशको बजेट : प्राथमिकतामा कृषि, ८ करोड विनियोजन

बुटवल : कृषिलाई प्राथमिकतामा राख्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा युवालाई व्यावसायिक कृषिमा लगाउन कृषि यान्त्रिकीकरणका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशको एक स्थानमा कम्पोष्ट मल र ७५ वटा गड्यौले मल उत्पादन केन्द्र स्थापना गर्न ४ करोड २५ लाख छुट्याइएको मन्त्री खड्काले बताए ।

सिँचाइसहितको व्यावसायिक कृषि बाली विकासका लागि २९ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै सरकारले बजेटमा महिला लक्षित बाली र करेसाबाली प्रवर्द्धन कार्यक्रम ल्याएको छ । खाद्यान्न बजेटमा बालीको उत्पादन बढाउन दलहन र ४ सय ५० हेक्टरमा बीउ आत्मनिर्भर कार्यक्रम सञ्चालन हुने जनाएको छ । खाद्यान्न बाली संरक्षणका लागि ७ करोड ६० लाख बजेट छुट्याइएको मन्त्री खड्काले बताए ।

सरकारले एक स्थानीय तह एक कृषिबाली प्रवर्द्धन गर्न बजेट छुट्याएको छ । यस्तै कृषिमा रोजगारी प्रवर्द्धन गर्न १ करोड बजेट छुट्याइएको छ । कृषि ऋण प्रवाह गर्न ऐन बनाएर कृषि बैंक स्थापना र सञ्चालन गर्ने बताइएको छ ।

TOP