कपिलवस्तुमा १८ सय कुखुराको चल्ला नष्ट


शिवराज अनलाइन, कपिलवस्तु ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैद्य १८ सय ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाको वडा नम्बर १ मडहा स्थित नेपाल–भारत सिमावर्ती क्षेत्रमा गतराती भारतबाट तस्करले नेपालतर्फ अबैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ ।

कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले उक्त अबैद्य कुखुराको चल्ला बरामद गरिएको जनाइएको छ । प्रहरीको गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई देख्ने वित्तिकै चल्ला बोकेर ल्याइरहेका मानिसले फालेर फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको छ ।

प्रहरीका अनुसार ब्रोइलर कुखुराको चल्लाको मुल्य अन्दाजी १ लाख ८० हजार रुपियाँ बराबर रहेको जनाएको छ । बरामद गरिएको अबैद्य कुखुराको चल्लालाई पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, स्थानीय लगायतको रोहबरमा खाल्डामा पुरी नष्ट गरिएको कृष्णनगर प्रहरीले जनाएको छ ।

TOP