लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाण्डौ – काठमाण्डौका सडकमा गाडी चलाउँदा लेन अनुशासन पालना नगर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ ।

दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनका लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आज शुक्रवारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभाबी गाडी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने गाडीका चालकलाई पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटकपछि एक हजार पाँच सय रुपैयाँ जरिबाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।

ट्राफिक प्रहरीले यस आर्थिक वर्षमा १२ हजार आठ सय ६८ चालकलाई लेन अनुशासनमा कारबाही गरी जनचेतनामूलक कक्षा दिइसकेको छ ।

ट्राफिक प्रहरीले सीसीटीभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारबाही गर्दै आएको छ ।

सीसीटीभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा गाडीको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिबानासमेत गर्ने गरिएको छ ।

लेन अनुशासन पालना नगरि तीव्र गतिमा गुड्ने गाडीका कारण दुर्घटना हुने भएकाले लेनको सही प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

TOP