विजयनगरकाे सार्वजनिक सुनुवाइ, गुणस्तरीयता र अनुगमनमा जाेड

कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । साेमबार गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाइ गरिएको आयाेजकले जनाएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयाेजनामा र विजयनगर गाउँपालिकाको  सहयोगमा आर्थिक वर्ष २०७८/०८९ को सार्वजनिक सुनुवाई गरिएकाे हाे ।

कार्यक्रममा बाेल्ने अधिकांश जनताहरुले विकास निर्माणकाे काम,  शिक्षा र कृषि लगायतकाे विषयवस्तुकाे बारेमा प्रश्न उठान  गरेका थिए । उनीहरुले हरेक काममा ढिलासुस्ती, गुणस्तरहीन काम भएको गुनासो गर्दै आगामी दिनमा सुधार गर्नुपर्नेमा जाेड दिए । उनीहरुले विकास निर्माणका काम ठेकेदार भन्दा उपभोक्त निर्माण समितिले गुणस्तरीय काम गरेको भन्दै उपभोक्तामार्फत काम गराउन सुझावसमेत दिएका छन् ।

गाउँपालिकाले हरेक क्रियाकलाप तथा गतिविधिको अब्बल र स्तरयुक्त कामका लागि नियमित अनुगमन गरे हरेक काम अब्बल र परिणाममुखी हुने बताएका छन् ।  यस्तै आम नागरिकले अनौपचारिक शिक्षा, व्यक्तिगत घटना दर्ता सहज रुपमा पहुँच हुनुपर्नेमा जाेड दिए ।

कार्यक्रमलाई बालजी चाैधरी, गीता मिश्र, ताैलन जयसवाल, विजय कुमार चाैधरी, टेकेन्द्र भण्डारी, देवेन्द्रमणि त्रिपाठी लगायतले गुनासाे तथा सुझाव दिएका थिए । 

कार्यक्रममा नागरिकले उठाएका प्रश्न र गुनासोलाई  सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले हरेक विकासका पुर्वाधारहरु विकासके दृष्टिकोणले उत्तिकै महत्वपूर्ण रहेकाे बताउँदै  गाउँपालिका हरेक विषयकाे जवाफदेही हुने बताए ।  उनले आगामी दिनमा सम्पुर्ण कामलाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिनुकाे साथै गुणस्तरीयतालाई मध्यनजर गर्दै अगाडी बढ्ने जिकिर गरे ।

विकासका पुर्वाधारहरुलाई प्राथमिकताकाे आधारमा याेजनाबद्ध रुपमा गाउँपालिकाकाले विकास गर्ने अध्यक्ष थापाकाे भनाइ छ ।  जनताबाट आएका गुनासाे, सल्लाह सुझाव अनुसार नै याेजनाका साथ अगाडी बढ्ने उनले प्रतिबद्धतासमेत जनाए ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाेबिन्द भट्टराईले गाउँपालिकाको विकासका कामको ढिलासुस्ती र कमीकमजोरीलाई चुस्तदुरुस्त बनाउने बताए ।  उनले जनताको गुनासोप्रति प्रतिबद्ध रहेर नागरिकले पाउने सेवा सुविधालाई सहज वातावरणकाे सिर्जना गर्ने बताए । भट्टराईले  गाउँपालिकाले दिने ठेक्कापट्टा, बोलपत्र र सार्वजनिक गर्नुपर्ने सूचनाहरु नियम सङ्गत आह्वान गरिएको दाबीसमेत गरे ।

यस्तैबीच गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विकासका कार्यलाई नियमित अनुगमन गर्दै आएको बताइन् । उनले विकासका कामलाई ढिलासुस्ती हुन नदिने कहीकतै अनियमितता वा ढिलासुस्ती भएमा उच्च निगरानीका साथ आवश्यक कदम चाल्ने उनकाे भनाइ छ । नागरिकबाट आएका उजुरीलाई न्यायिक समितिले समयमै समाधान गरिएको उपाध्यक्ष चाैधरीले जनाइन् ।

नेपाल पत्रकार लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई, गुनासो  निर्धक्कपुर्वक राख्ने र राम्रो कामको बारेमा प्रसंशासमेत गर्नुपर्ने बताए । उनले विजयनगर गाउँपालिकाको नियमित आयश्रोत नहुँदा विकासको गति लिन नसकेले आर्थिक समृद्धिका लागि नागरिकले नै अग्रसर हुनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा जनप्रतिनिधि, पालिकाबासी, स्थानीय राजनीति दलका प्रतिनिधि, समाजसेवी,शिक्षक सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई  गरिएको जनाइएको छ ।

TOP