भारतले दियो विपद् रोकथामका लागि राहत सामग्री

काठमाडौं : भारतले प्राकृतिक विपद्जन्य घटनामा उद्धार र राहतका लागि र्‍याफ्टिङ, त्रिपाललगायत विभिन्न सामग्री दिएको छ।

विपद् न्यूनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (शुक्रबार) सिंहदरबारस्थित गृह मन्त्रालयमा एक समारोहबीच गृहमन्त्री बालकृष्ण खाँणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरे। राहत सामग्रीमा ३ हजार ठूला साइजका टेन्ट र १० वटा इनफ्लेटेबल डुंगा रहेका छन्।

राजदू्त श्रीवास्तवले समयमै उपलब्ध गराइएको राहत सामग्री सम्बन्धित निकायले समयमै वितरण गरी त्यसको उचित उपयोग गरी राहत सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताए।

उनले वर्षाका वेला भारत र नेपालमा प्राकृतिक विपद्का घटना धेरै हुने गरेकोले विपद्पूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताए। उनले प्राकृतिक विपद्का घटनाको न्यूनीकरणका लागि भविष्यमा पनि नेपाल र भारत मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

राजदूत श्रीवास्तवले भने, ‘नेपाल र भारतमा वर्षायाममा धेरै क्षति हुन्छ। नेपालले सहयोग मागेपछि हामीले नेपाललाई धेरै सहयोग गर्‍यौं। भारतले नेपाललाई सधैँ सहयोग गरिरहेको नै छ। प्राकृतिक विपद्को सामना गर्नु नेपाल र भारतको विकासको साझेदारीको एउटा महत्वपूर्ण पक्ष हो। नेपालसँग भविष्यमा पनि मिलेर भारत प्राकृतिक विपद्का सामना गर्न चाहन्छ। यसको लागि जे क्षमता विकास गर्नसक्छौँ भारतले गर्नेछ।’

उनले विपद्को सामना गर्न आवश्यक क्षमता विकास गर्न पनि भारतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

समयमै राहत सामग्री उपलब्ध गराएकोमा गृहमन्त्री खाँणले भारतलाई धन्यवाद दिए र भारत-नेपालबीच रही आएको विपत् व्यवस्थापन तथा राहत सहकार्यको सराहना गरे।

नजिकको छिमेकीको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ। यी राहत सामग्रीको हस्तान्तरणले विपद व्यवस्थापन तथा न्यूनीकरणका लागि नेपालले चालेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले गर्दै आएको निरन्तर सहयोग प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ।

उनले भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारतले महत्वपूर्ण सहयोग गर्दै आएको बताए। उनले नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गरे।

उनले भने, ‘नेपाल र भारत मिलेर नै प्राकृतिक विपद्का घटना सामना गरिरहेका छौँ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ। भूक्षय, बाढीका कारण हुने क्षतिमा भारत सरकारले पहिल्यैदेखि सहयोग गर्दै आएको छ। प्राकृतिक विपद्का लागि क्षमता विकासमा पनि भारतले सहयोग गरिरहेको छ।’

TOP