पेट्राेलियम पदार्थकाे विकल्पमा सरकारकाे ध्यान पुगेन : सांसद सुवाल

काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रूपमा सरकारको ध्यान नपुगेको बताउनुभएको छ । 

आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिसकेको भए पनि नेपाली बजारमा नघटाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले नेपाल आयल निगमले सञ्चित घाटा ३१ अर्ब रुपैयाँ पुगिसकेको बताए पनि सरकारले पेट्रोलियम पदार्थको विकल्पको रूपमा सोच्न नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घट्यो तर नेपाली बजारमा घटेको छैन । घट्न आवश्यक छ । निगमको सञ्चित नोक्सानी ३१ अर्ब रुपैयाँ पुग्दा पनि सरकारले विकल्प सोचेको छैन ।’ 

सांसद सुवालले सरकारले भारतलाई बेचेको ३ सय ६४ मेगावाट बिजुलीबाट १६ अर्ब रुपैयाँ आम्दानी भएको बताए पनि बिजुली भारतलाई बेच्नुभन्दा नेपालीलाई सस्तोमा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भारतले आफ्नो लगानी भएको बिजुली मात्र नेपालबाट किन्ने योजना सार्वजनिक भइरहेको भन्दै भारतले नेपाललाई आफ्नो कब्जामा राख्न चाहेको स्पष्ट भएको दाबी गर्नुभयो । 

TOP