विचार मिल्नेसँग तालमेल गरेर मुलुकको वैकल्पिक शक्ति बन्छाैँ : भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने बताएका छन्। 

पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै उनले जनताका मुद्दाहरूलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने बताएका हुन्। 

‘अब जहाँसम्म आगामी निर्वाचनको कुरा छ। अस्ति मात्रै निर्वाचन घोषणा भइसकेपछि धेरै मानिसहरुमा जिज्ञासा छ। अब यो नयाँ नेपाल समाजवादी पार्टीले निर्वाचनलाई के गर्छ? भन्ने जहाँसम्म जिज्ञासा छ’ उनले भने, ‘मैले अघि पनि संकेत गरेँ–हामी सदन, सडक र सरकार अर्थात् सडक संघर्ष, चुनावी संघर्ष र सरकारमा गएर पनि गरिने सुधारात्मक काम यी सबैको संयोजनबाट मात्रै हामीले अगाडि सारेको समावेशिता, संघीयता, सुशासन, समृद्धि समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने हाम्रो मान्यता छ।’

उनले आगामी निर्वाचनमा आफूहरूको बाटो केही अप्ठ्यारो भए पनि आफूहरुको जित सुनिश्चित भइसकेको दाबी गरे। 

‘हाम्रो आगामी निर्वाचन छ, यसबारेमा पनि हामीले यो बैठकमा गम्भीर छलफल गरेर यसलाई कसरी हामीले प्रयोग गर्ने यसको निम्ति हामी एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिहरूसँग सहकार्य गरेर हुन्छ, त्यसबारेमा पनि हामी गम्भीर विचार विमर्श गर्नेछौं’ उनले भने, ‘म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु–सहभागी साथीहरूलाई आश्वस्त पार्न चाहन्छु-हामीले नयाँ इतिहास कोर्ने जुन हिम्मत र साहस गरेका छौँ। त्यो बाटो केही अप्ठ्यारो भए पनि अन्ततः विजय हाम्रै हुनेछ।’

आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वाससमेत व्यक्त गरे।

TOP